Logo

प्रेम पत्र – एक दशक पछि



पृया नीरा

कहाँबाट शुरु गरुँ, के शब्दबाट शुरु र के भनेर सम्बोधन गरुँ तिमीलाई पृया । यहाँ सम्मकी, सन्चै छ्यौ तिमी भनेर सोध्न सक्ने त्यो शब्द पनि छैन मसङ्ग । कुन शब्दकोशबाट उधारो लिउँ ती शब्दहरू, तिम्रा ती प्रश्नको प्रत्युत्तरको लागि । जहिल्यै म तिम्रो नजरमा धोकेबाज र दोषी ठहरिरहें । जानेर भनौं या विवसताको जाँतोमा पिसिनु परेर । त्यो म भन्दा बढि कस्लाई थाहा होला र पृया ? र तिमीलाई कसरी व्यक्त गरुँ ती पलहरू । आज एक दशक पछि, आफूलाई बनाएको कठोर एक पत्थर मुटुलाई अतीतको यादको कोइलामा पगाली, तिमीलाई यो पत्र लेखिरहदाको क्षण प्रत्येक अक्षरहरू सङ्गै भिजेका मेरा यी परेलीहरू तिमीलाई सम्झिरहेछ पृया । तिमीले स्पर्श गरेका यी हातहरू, तिमीले चुम्बन गरेका यी निर्दोश अधरहरू र यी विवस मेरा नयनहरू आज तिमीलाई सम्झिरहेछ नीरा ।

तिमी म सङ्ग छुट्टिनुको पर्दाको क्षण जति तिमीलाई कठिन थ्यो पृया यो भन्दा पनि बढि कठिन् थ्यो मलाई । तिम्रो चुल्ठो समाती तिमीलाई, स्यालले कुखुरा घिसारे झैं मेरै नयनका सामु घिसारीरहँदा, गहुँखेतमा ठिङ्ग उभ्याइएको बुख्याचा झैं म फगत ठिङ्ग उभिईरहें । म केवल उभिईरहें, उभिइरहें । र पनि मैले आफ्ना विवसताको हतकडी चुँडाउन सकिन । बालुवाले पानी सोंचे झैं परेलीहरूबाट तप्किन लागेको तडपका आँसुहरू आफ्नै लाचारी नयनहरूमैं फिर्ता लिईरहें । म सङ्ग कुनै हिसाब छैन पृया । आज तिमीलाई पत्र कोरिरहँदाको पल मेरा परेलीहरूले रुँदै मैं सङ्ग रुएर बिन्तिगरेको पृया । ” आज त रुनदेऊ राज, तिम्रा अतीतका पीडाको ती घाइते अक्षरहरू म पढ्न सक्तिन ।

त्यसैले, मैले झारेका आँसुका प्रत्येक थोपा – थोपाले ती घाइते अक्षरहरूको आलो रगत पखाल्न चहाँन्छु, कृपया राज आज न रोक मलाई रुनबाट ” भन्दै बिन्ति गरेका । म सङ्ग कुनै हिसाब छैन, पृया । मैले लेखेका प्रत्येक अतीतका अक्षरहरू तप्पतप्प गरी पोखिरहेका आँसुहरूले ईरेजरले झैं मेटाउँदै थिए । तिमी त ”आँ गर्दा अलङ्कार बुझ्ने मान्छे” फेरि कसरी चुक्यौ त आज पृया मेरो विवसताको दस्तावेजहरू पढ्नलाई ? एक फेर आफैलाई मासु बनाएर अचानोमा राखी खुकुरी चलाऊ त पृया, मासुलाई भन्दा अचानोलाई दुख्छ । अनि तिमी आफै बुझ्ने छ्यौ ।अनि तिम्रो प्रत्येक प्रश्नको उत्तर प्रश्नको शैल भित्र थिचिएर बसेको प्रत्येक बालुवा बालुवामा पाउने छ्यौ मेरा उत्तरहरू पृया ।

मलाई थाहा छ, तिमी अहिले घृणाको शैल बनेर उभिएकी छ्यौ मेरो अघि । जसरी म त्यो दिन केही विवसताले गर्दा मायाको कठिन सागरमा मजबुरीको प्वाल परेको डुङ्गामा परेलीका आँसु प्रेमको अञ्जुलीमा थाप्दै आफ्नो प्यास आफ्नै अतीतका आँसुहरू पिएर बुझाउँथें । कसरी भुल्न सक्छु म त्यो पलहरू, पृया ? यो मेरो लागि एउटा प्रश्नको विषय बनेको छ । जिन्दगी नै एक खोलाको किनारामा एक प्रश्नको शैल झैं बनेर चुलिए पछि अनि असारमा बग्ने खोलाको उन्मत्त छालहरूले मेरो कमजोर उत्तरहरूको किनारामा बारबार लात्तले हानिरहँदा म तिम्रो प्रश्नको प्रत्येक उत्तरको लागि खडा भएर अडिरहन सकिन पृया । मलाई माफ गरिदेऊ पृया, माफ ।

न तिम्रो दोष थियो पृया, न मेरो नै दोष । तिमी पनि बिछट्टै आफैलाई बिर्सिएर मलाई प्रेम गर्थ्यौ । केवल दोष थियो त हाम्रो उँचनिचको, जात र भातको । अनि गरिब र धनिकको । कुल र घरानाको । हो, यही मान्छेले बनाएको संस्कारको अजिङ्गरले निल्यो तिम्रो र मेरो प्रेमलाई नीरा । तिम्रो र मेरो मात्रै कहाँ हो र पृया ? सदियौं देखि चल्दै आएको धर्म शास्त्रानुसार पनि पार्वती ब्राह्मण कुलकी राजाको छोरी अनि महादेव जट्टाधारी क्षेतृय वंशको । आफ्नै पिताबाट आफ्नै पतिको अपमान सहन नसकेर होम् गरिरहेको यज्ञमा हाम् फालेर मरेको कथा अझै श्री स्वस्थानी ब्रत कथामा पढिरहेका छन् । तिम्रो र मेरो प्रेमको बाँधिएको डोरी छिनाल्ने हाम्रा शत्रुका समाजहरू ।

के हेरिरहेका छन् आज पनि यी समाजहरू ? फेरि किन जलाउँदैन अझै यस्ता कुँसस्कृतिका कागजका धमिरा लागेका पात्रहरू । यहाँ प्रेम भन्दा पृया, कुँ-संस्कृति र कुलघरानाको श्रीपेचलाई सर्वोपरी मान्छ नीरा । अहम् र बकुम्फासे संस्कृतिका जाँतोमा पिसिएका थियौँ तिमी र म । ज मैले पृया तिमीलाई सबै सत्य कुरा बताउने हो भने तिम्रो पाउ तल धर्ती फाट्ने छ । न बताई पनि भएको छैन पृया ।

प्रतिक्रिया दिनुहोस्