Logo

पराजित उम्मेदवारलाई जनता हार्लान् भन्ने डर



‘चुनावको बेला र चुनाव जितिसके पछिको नेताहरुको नमस्ते नै फरक हुने है’ चियापसलमा कसैले यो भनोस् मात्रै उसले सबैको ‘हो मा हो’ को समर्थन पाउछ । अक्सर नेपाली राजनीतिका नामी खेलाडीहरुको व्यवहार र उनीहरुप्रति जनताले बुझ्ने शैली यहि नै हो ।
चुनावको लडाईँमा सफल बन्न उहि गाउँ पाखा, भिरको बाटो, झुपडीको जीवनमा उनीहरु जानु पर्छ नै । तर जब बिजयीको माला लगाउछन् चाहे मन्त्री बन्न होस् चाहे पहिलेको भन्दा अघिल्लो सिढीँ चढ्न होस् उनीहरु शक्तिकेन्द्रतिर धाउने, चिल्ला गाडी चढ्ने, सिसैसिसा र ढलानको घरमा बस्ने प्रतिस्पर्धामा उनीहरु फर्किन्छन् । कागजमा गणतन्त्र आएपनि गाउँमा पहिरो लड्न छोड्दैन । खेतबारीको माटोले खुकुलो हुन पाउदैन । १५ कटेको ज्यानले गाउँमा रमाउन छोड्छ । यसरी हिजोको जस्तै गाउँघरले अर्को निर्वाचनसम्म नेताको न्यास्रो मानिरहेकै हुन्छ ।
खास ठाउँको नभई नेपालको प्रायजसो गाउँघरको अवस्था यहि नै हो ।

निर्वाचित भईसकेपछि नेताहरु गाउँघरतिर आउनेजाने गरिरहनु जति सह्रानीय हो त्यो भन्दा प्रसंसायोग्य कुरा यो हो कि निर्वाचनमा पराजित उम्मेदवारहरुले निरन्तर गाउँको विकासमा समर्पित हुनु । त्यही प्रसंसा गर्नुपर्ने भिडको एउटा नाम हो लेखराज गौतम । पेशाले कानुनव्यवसायी । स्थानीय तहको निर्वाचनमा काभ्रेको चौरी देउराली गाउँपालिकाको अध्यक्षमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार गौतम उपबिजेता बने । काठमाडौंमा ल फर्म चलाएर आर्थिक हैसियत उकास्ने र शहरतिरै घरघडेरी र चिल्ला गाडीमा जीवन बिताउने कानुनव्यवसायीको भिडमा उनी निकै फरक छन् । कानुनको वकालत गरेपनि उनी आफ्नो गृहजिल्ला र गाउँघर महिनामा कम्तिमा एकचोटी भए पनि पुगेकै हुन्छन् । भन्छन्,‘राजनीति आग्रह ईस्र्याको आधारमा गरिन्न । मैले त्यसरी बुझेको छैन । प्रजातान्त्रिक विधि र प्रकृयाअनुसार जनताले आफ्नो नेतृत्व छनौट गर्ने कुरा हो ।’राजनीतिलाई पेशा बनाउनु हुन्न भन्ने उनको स्पष्ट दृष्टिकोण छ । निर्वाचित जनप्रतिनिधिले जनपक्षीय काम गर्ने हो भने कुनैपनि कानुनले नछेक्ने उनको धारणा छ ।

काभ्रेमा १३ वटा स्थानीय तह छन् । जसमध्ये काभ्रेको कर्णाली भनेर चौरी देउराली गाउँपालिकालाई चिनिन्छ । यद्यपी त्यहाँको युवा जनशक्ति,जल,जमिन र जंगललाई वैज्ञानिक ढंगले परिचालित गर्ने हो भने काभ्रेको समृद्ध स्थानीय तह बन्न चौरी देउरालीलाई कसैले रोक्न नसक्ने गौतमको बुझाई छ । ‘केन्द्र सरकारले पर्याप्त बजेट पठाएको छ । सबै कुरा हुदाहुदै विकासको गति ,उत्पादन बृद्धि र रोजगारी सिर्जनामा अपेक्षा अनुसार काम भएको छैन’ उनी भन्छन् । कृषि उत्पादनमा जोड दिन सिँचाई योजनालाई अघि बढाउन आवश्यक रहेको तथा पशुपालन र फलफुल खेतीबाट मनग्य आम्दानी लिन सकिने उनी बताउछन् । गाउँघरका जनताले उडेर चन्द्र छुने अपेक्षा नै के राखेका हुन्छन् र । जग्गा, साँध सिमानाको झगडा पर्दा, चोरी डकैती हुँदा, छुवाछुत वा कुटाकुट हुँदा आफ्नो जनप्रतिनिधि आएर विवाद समाधान गरिदेओस् भन्ने यस्तै पवित्र मन न हुन्छ गाउँपालिकाबासीको । यद्यपी नेपालका अधिकांश स्थानीय तहले जनप्रतिनिधि गाउँघरमा पाउन महिनौँ कुर्नुपर्छ । तर नेकपा नेता गौतमजस्तै निर्वाचनमा पराजितहरुले आफ्नो गाउँघरलाई निरन्तर सम्झिने हो भने कुनाकाप्चाको सम्भावनाहरुले उज्यालोको गति लिने अवश्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्