Logo

बालुवाटारको प्रधानमन्त्री निवास किनबेच भएको हो ? सरकारले पार्‍यो प्रष्ट



काठमाडौं । सरकारले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास रहेको जग्गा किनबेच नभएको स्पष्ट पारेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको निवासको जग्गा किनबेच नभएको जानकारी दिएका हुन् । उनकाअनुसार शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको हो । ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो’, उनले भने ।

सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए । ‘दोषी देखिन्छ भने कोही पनि उम्कँदैन, यसमा सत्ता र प्रतिपक्षको प्रश्न हुँदैन’ मन्त्री बास्कोटाले भनेका छन् । अनुचित ढंगले व्यक्तिको नाममा लगिएको जग्गा सरकारको नाम ल्याइछाड्ने उनले बताए ।

ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले समेत किनेको पाइएको छ । यसबारे के हुन्छ भनेर सोधिएको प्रश्नमा सरकारका प्रवक्ता बास्कोटाले भने, ‘नेकपाको महासचिवले यस विषयमा वक्तव्य जारी गरिसक्नुभएको छ । उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । कसैको नाममा भइसकेको जग्गा किनेको हुँ भन्नुभएको छ ।’ उनले अगाडि भने, ‘उहाँले त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन ।’

नक्कली कागज बनाएर प्रारम्भिक तहमा जसको नाममा जग्गा आयो र जसले त्यसमा भूमिका खेले, उनीहरुमाथि कारबाही हुने उनले बताए । मन्त्री बास्कोटाले भने, उहाँ (पौडेल) त पीडित भइसक्नुभो । उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली ।’

प्रतिक्रिया दिनुहोस्