Logo

देशवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने भ्रष्टाचार नियन्त्रण गर्न समय लाग्छ



काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण गर्न लामै समय लाग्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले जतिसुकै लामो समय लिए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने बताए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नयाँ वर्ष २०७६ को उपलक्ष्यमा देशवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जुनसुकै मूल्य चुकाएर भए पनि राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट नदिने स्पष्ट पारे।

‘राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन। ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक भएकै छ। भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ। यसले लामै समय लिन्छ’, प्रधानमन्त्रीले भने।

सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्रीले ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने, भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने’ आफ्नो दृढ सार्वजनिक घोषणा भएको पनि उल्लेख गरे।

भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली नभएको उनले बताए। प्रधानमन्त्रीले भने, ‘तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटोको चुच्चे ढुंगालाई साक्षी राखी गर्दिनँ भनेको काम/कुरा नगर्ने इमान भएको जाति नेपाली हो। तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन।’

प्रधानमन्त्रीले गत वर्ष संघीय शासन व्यवस्थाको जग बसाल्दै गर्दा कसरी काम गर्ने भन्ने अवस्थामा मुलुक रहेको स्मरण गर्दै अहिले प्रगति सुनाउने अवस्थामा नेपाल आइपुगेको पनि जिकिर गरे।

ओलीले संघीयता मुलुकका लागि नयाँ अनुभव भए पनि शासन प्रणालीको सबै तहका सरकार अहिले व्यवहारबाट सिक्दै, कमी/कमजोरीलाई चिर्दै अघि बढ्न थालेको बताए। प्रधानमन्त्रीले अगाडि थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दै छ, आफ्नै भूमिमा उम्रिएको यो टुसा हुर्किंदै छ। मुलुकको आर्थिक/राजनीतिक रूपान्तरणको यस प्रक्रियामा धैर्यपूर्वक संलग्न हुने र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई म, शुभकामना तथा बधाई दिन्छु।’

सरकारले गरेका कामको जवाफ तथ्य/तथ्यांककै आधारमा दिन तयार रहेको पनि प्रधानमन्त्रीले बताए। सरकारले गरेको कामको खोजी आज नभए भोलि, भोलि नभए पर्सि जनताको जीवनस्तरमा देखिने पनि उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्