Logo

संसदीय समितिले पहिलोपटक प्रधानमन्त्री ओलीसँग सोधपुछ गर्ने



काठमाडौं । संसदीय समितिले पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवैधानिक अङ्गमा सिफारिस पदाधिकारीका विषयमा सोधपुछ गर्ने भएको छ । संसदीय सुनुवाइ समितिले प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष ओलीसँग सोधपुछ गर्ने भएको हो । राज्यका महत्वपूर्ण निकायमा संवैधानिक परिषदले गरेका सिफारिस एकपछि अर्को गरी विवादमा परेपछि समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको समितिले जनाएको छ । संघीय संसद सुरु भएयता पहिलोपटक प्रधानमन्त्रीलाई नै बोलाएर समितिले छलफल गर्न लागेको हो ।

संघीय संसदको १४ महिनाको अवधिमा अरु कुनै पनि समितिले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेका छैनन् । प्रमुख प्रतिक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषद्ले निर्णय गरेको भन्दै कांग्रेसले विरोध जनाइ रहेका बेला समितिले प्रधानमन्त्रीलाई बोलाएर सोधपुछ गर्ने निर्णय गरेको हो ।

परिषद्ले गएको माघ ६ गते पाँचवटा संवैधानिक आयोगको अध्यक्ष सिफारिस गर्ने निर्णय विवादित भएको थियो । प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि परिषद्ले वित्त आयोगमा बालानन्द पौडल, समावेशी आयोगमा सान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई सिफारिस गरेको थियो ।

आफ्नो उपस्थिति विनै निर्णय गरेको भन्दै प्रतिपक्षी कांग्रेसले संसदमा विरोध जनाउँदै उनीहरुको सुनुवाइ प्रक्रिया नै बहिस्कार गरेको थियो ।

त्यस्तै गएको चैत ११ गते पनि देउवाको उपस्थितिबिनै परिषद्ले निर्वाचन आयोगमा बाहालवाला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई सिफारिस गरेको थियो ।

उक्त सिफारिसप्रति कांग्रेसले सुनुवाइ समितिमा असहमति जनाउँदै प्रधानमन्त्री नै संवैधानिक प्रावधानलाई उल्लंघन गर्न लागि परेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्