Logo

विद्युतीय कारोबार ऐनमा पत्रकारलाई कारबाही चलाउनु आपत्तिजनक– चलचित्र पत्रकार संघ



काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले विद्युतीय कारोबार ऐनमा पत्रकारलाई कारबाही चलाएकोप्रति आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा ताण्डब न्यूज डटकम (साप्ताहिक) का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरी साइबर अपराध अन्तर्गत मुद्दा चलाएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको संघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई यसरी पटकपटक पक्राउ गर्नु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको ठहर समेत गरेको छ ।

संघका महासचिव अनिल यादवले प्रेस विज्ञप्ति जारी गरेर समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहुँदै यसलाई लत्याएर पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तीजनक रहेको जनाएका छन् ।

प्रहरी प्रशासनको यस्तो हर्कतले विद्युतिय माध्यमबाट पत्रकारिता गरिरहेका पत्रकारहरुलाई अचम्मित र आतंकति दुवै बनाएको छ । ‘पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपविरुद्ध अहिले देशभरका पत्रकार आन्दोलित छन् । नेपाल पत्रकार महोसंघको नेतृत्वमा भइरहेको यो आन्दोलनप्रति चलचित्र पत्रकार संघ नेपाल ऐक्यवद्दता प्रकट गर्दै प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्भिकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ’, जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल सच्याउँदै विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ खारेज गर्न, पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाई गर्न, मुद्दा फिर्ता गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न राज्यसँग जोडदार अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्