Logo

कार्यक्रमलाई सम्बोधन गरिरहँदा देखाइयो प्रधानमन्त्री ओलीलाई कालोझण्डा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् । जीतगढी विजय महोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा रुद्रप्रसाद घिमिरेले कालोझण्डा देखाएका हुन् । उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको शालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ ।
वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।

नेपाली फौजसँग लडाइँ हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको शालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ । शालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

यसैगरी प्रधानमन्त्री ओलीले कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम भित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्