Logo

राष्ट्रपतिको चीन भ्रमण अघि आह्वान गरिँदै बजेट अधिवेशन



काठमाडौं । संघीय संसदको बजेट अर्थात् वर्षे अधिवेशन आह्वान गरिने तयारी गरेको छ । यही वैशाख १६ गतेदेखिख सुरु हुने गरी बजेट अधिवेशन आह्वान गर्न लागिएको हो । संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवि भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गर्न लागेको संघीय संसद सचिवालयले जनायो ।

अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ । संसद सचिवालयले दिएको जानकारी अनुसार वैशाख १६ गते अधिवेशन बोलाउने आह्वान हुने जानकारी पाए पनि औपचारिक जानकारी शुक्रबारसम्म आएको छैन ।

आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्री बजेट पेश गर्नुपर्ने भएकाले प्रिबजेट छलफलका लागि एक महिना अघि अधिवेशन बोलाउन लागिएको हो ।

बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे पर्याप्त छलफल गर्ने परम्परा छ । बजेट अधिवेशन भए पनि आउँदो अधिवेशनमा विधेयक पनि पारित गरिने कानुन मन्त्रालयले जनाएको छ । संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्