Logo

नेकपा महासचिव पौडेललाई कांग्रेस नेता गगन थापाको व्यंग्य– ‘पशुपति किन्न भ्याउनुभएनछ’



काठमाडौं । पछिल्लो केही दिन भूमाफियाहरुले सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको विषयले राजनीतिकदेखि समाजसम्म बहस फैलिएको छ । अझ बालुवाटारमा रहेको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले किनेको विषयले राजनीतिमा निकै तरङ्ग ल्याइरहेको छ । प्रमुख विपक्षी दललाई खुराक बनेको छ भने सत्तारुढ दल नेकपाले महासचिव पौडेलको बचाउ गरेको छ ।

यसैक्रममा शनिबार आयोजित नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले व्यक्तिको नाममा गएको बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने मात्रै बताएनन्, नेकपा महासचिव पौडेलप्रति कटाक्ष समेत गरे ।

‘बर्दघाटको जग्गा बेचेर काठमाडौंमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ, उहाँको दुस्खमा अन्यन्त सहानुभूति छ। विचरा नराम्रोसँग ठगिनुभएछ,’ नेता गगनले भने, ‘मलाई खुसी पनि लागेको छ, बालुवाटार किन्दा किन्दा उहाँले पशुपति किन्न भ्याउनुभएनछ।’

नेता थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलगायतको नाममा गएको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताए। ‘उहाँको जग्गा त गयो गयो, प्रधानमन्त्री धेरै जग्गा जोगाउन लाग्नुभयो भने उहाँको बालुवाटार पनि जान्छ,’ थापाले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्