Logo

प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दै, हरेकका तीन खेल बाँकी रहँदा एक अंकको फरक



काठमाडौं । इङ्लिस प्रिमियर लिगको जारी सिजनको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । हरेक टोलीले अब खेल्न तीन तीन खेल बाँकी रहेको छ । ३६ औँ चरणको खेल शुक्रबारदेखि सुरु हुँदै छ। दोस्रो स्थानको लिभरपुलले घरेलु मैदानमा हडल्सफिल्डविरुद्ध खेल्दै छ।शीर्ष स्थानको म्यानचेस्टर सिटी र लिभरपुलबीच केवल एक अंकको फरक छ। हडल्सफिल्डविरुद्ध जित हात पार्न सके लिभरपुल शीर्षस्थानमा उक्लने छ तर म्यान सिटीभन्दा एक खेल बढी खेलेर।

लिभरपुलले सिजनका बाँकि दुई लिग खेल न्युकासल र उल्भ्सविरुद्ध खेल्ने छ। म्यान सिटीले ३६ औँ खेलमा आईतबार बर्नलीसँग प्रतिस्पर्धा गर्दै छ। त्यसपछि लेसेस्टर र ब्रिघ्टनसँगका खेल बाँकी रहने छन्।
उपाधि होडमा लिभरपुल र म्यान सिटी मात्र दौडमा छन्। तेस्रो स्थानमा रहेको टोट्टनहाम शीर्षस्थानको म्यान सिटीभन्दा १९ अंकले पछाडि छ।

गएको सिजन झैँ यसपटक पनि लिभरपुल उच्च लयमा छ। उसले युरोपियन च्याम्पियन्स लिगमा सेमिफाइनल यात्रा तय गरिसकेको छ। सबै प्रतियोगितामा गरि उसले १८ खेलयता हार ब्यहोरेको छैन। यसबीचमा पाँच बराबरीबाहेक अन्य सबै खेल जितेको थियो।

घरेलु लिगमा उसको अन्तिम हार म्यान सिटीसँग नै थियो। म्यान सिटीको मैदानमा भएको खेलमा २(१ गोलले पराजित भएपछि लिभरपुलले पुन तीन अंक गुमाएको छैन। यता म्यान सिटी पनि उच्च लयमा छ।
म्यान सिटीले सबै प्रतियोगितामा खेलेका पछिल्ला १९ खेलमा १८ जित र एक हारको नतिजा निकालेको छ। शीर्ष दुई टोलीको उच्च लयका कारण प्रिमियर लिगको उपाधि दौड यसपटक रोमान्चक हुने देखिन्छ।

लिभरपुलका मोहम्मद सलाह यसपटक घरेलु लिगमा सर्वा्धिक गोलकर्ता गर्नेको सूचीमा दोस्रो स्थानमा छन्। शीर्षस्थानमा रहेको म्यान सिटीका सर्जियो एगुएरोसँग समान १९ गोल भएपनि असिस्टमा पछाडि छन्।लिभरपुलकै अर्का खेलाडी साडियो मानेले पनि १८ गोल गरेका छन्। सलाह गत सिजन प्रिमियर लिगका सर्वा्धिक गोलकर्ता बनेका थिए।

लिभरपुलका लागि सिजनको ३६ औँ लिग प्रतिद्धन्द्धी हडल्सफिल्ड रेलिगेसनमा परिसकेको छ। ३५ खेलबाट १४ अंक भएको हडल्सफिल्ड तालिकाको २० औँ तथा अन्तिम स्थानमा छ। प्रिमियर लिगमा हडल्सफिल्डले खेलेका पछिल्ला सबै सात खेलमा हार ब्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्