Logo

धोनीलाई ज्वरो आएको फाइदा उठायो चेन्नईले, मुम्बई ४६ रनले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले घरेलु टोली चेन्नई सुपर किंग्सलाई ४६ रनले हराएको हो । १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७ ओभर चार बलमा सबै विकेट गुमाएर मात्रै १०९ रन बनायो । ज्वरो आएका कारण कप्तान महेन्द्र सिंह धोनी खेल्न नसकेको खेलमा चेन्नईले झिनो लक्ष्य पनि पूरा गर्न सकेन ।

चेन्नईका मुरली विजयीले ३८, मिचेल सन्टनरले २२ तथा डवेन ब्राभोले २० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।मुम्बईका लसिथ मालिंगाले ३७ रन दिएर चार विकेट लिए । यस्तै कृणाल पाण्डेयले सात रन दिएर दुई तथा जसप्रित बुमराहले १० रन दिएर दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले चार विकेटको क्षतिमा १५५ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ४८ बलमा ६७, इविन लुइसले ३० बलमा ३२ तथा हार्दिक पाण्डेयले नटआउट २३ रन बनाए । रोहित शर्माले आइपिएलको यो संस्करणमा पहिलो पटक अर्थशतक पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्