Logo

श्रीलंका आक्रमणका मुख्य आक्रमणकारी हाशिम मारिए



काठमाडौं । श्रीलंकामा आइतबार भएको आत्मघाती आक्रमणका मुख्य आक्रमणकारी जहरान हाशिम मारिएको दाबी गरिएको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मुख्य आक्रमणकारी मारिएको जानकारी दिएका हुन् । राष्ट्रपति सिरिसेनाले शुक्रबार घटनाका बारेमा जानकारी गराउँदै मुख्य आक्रमणकारी जहरान हाशिम विस्फोटका बेला शांग्रिला होटलमा मारिएको बताएका हुन् । हाशिम एक कट्टर उपदेशक थिए ।

राष्ट्रपति सिरिसेनाकाअनुसार हाशिमले अर्का आक्रमणकारी इल्हामसँग मिलेर विस्फोट गराएका थिए । राष्ट्रपति सिरिसेनाले श्रीलंकाली गुप्तचर संस्थाहरुका अनुसार इस्लामिक स्टेटसँग सम्बन्ध कायम भएका झण्डै १३० जना श्रीलंकामा रहेको जानकारी प्राप्त भएको बताएका छन् ।

त्यसमध्ये ७० जनाको व्यापक खोजी भैरहेको बताए पनि बाँकी हिरासतमा छन् वा देश छाडेर भागे भन्ने कुराको एकिन भएको छैन । सिरिसेनाले विस्फोट श्रीलंकाली प्रहरीका प्रमुख पुजित जयसुन्दरले राजीनामा दिएका छन् । त्यस्तै रक्षा सचिव हेमासिरी फर्नान्डोले पनि पदबाट राजीनामा दिएका छन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा गएको आइतबार भएको अलग–अलग आक्रमणमा चर्च र होटललाई निशाना बनाइएको थियो । आक्रमणमा कम्तीमा पनि २५० जनाको ज्यान गएको थियो । श्रीलंकाली प्रशासनले आक्रमणमा स्थानीय इस्लामिक समूह नेशलन तौहीद जमादको हात रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्