Logo

हङकङलाई हराउँदै फाइनलमा पुग्यो नेपाल, उपाधि भिडन्त भोलि हुने



काठमाडौं । नेपाल थाइल्यान्डमा जारी एसीसी अन्डर–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो । अब नेपालले उपाधि भिडन्त आइतबार हुनेछ । सामान्य ८७ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालका दुधराज विकले १२ बलमा ३ चौका सहित १४, ओपनर दिपक बोहोरा ११, सुवास ऐर १०,आईश भट्टराई १७, विशाल विक्रम केसी ७ र प्रसान्त महत १ रनमा आउट भए । कृष कार्की १२ र निखिल कुमार सिंह ४ रनमा अविजित रहे । हङकङ बृज नारायणले ३, अहान कन्हाई त्रिवेदीले २ विकेट लिए ।

त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हङकङ ३२.२ ओभरमा अल आउट हुँदै ८६ रनमा समेटियो । उसका लागि मिडिल अडरका आरुष भागवतले नेपाली बलरको डटेर सामना गर्दै ४३ रनमा अविजित रहे । हङकङलाई सम्मानजक लक्ष्य सम्म पुर्याउन उनले ८३ बलमा ४ चौका प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु हङकङका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसक्दा ४ ब्याट्सम्यान डक आउट हुन पुगे ।

ओपनर जगराज सिंहलाई विशाल कुमार पर्टेलले शून्यमा एलपी डब्लू आउट गरे । विशाललेनै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर लुकास ग्रेबियल डेललाई १ रनमा एलपी डब्लू आउट गर्दै दवावमा राखे । बृज नारायण ८,मोहम्मद एलियान जाहिर शून्य र रौनक कपुर ४ रनमा आउट भएपछि हङकङ संकटमा परेको थियो ।

हङकङको विकेट निरन्तर गुमि रह्यो । अहान कन्हाई त्रिवेदी ५,वाहिद मोहम्मद शून्यमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।हङकङलाई सस्तैमा रोक्न नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए ।

रमेश कुर्मी र बिशाल कुमार पर्टेलले समान २ विकेट हात पारे । त्यस्तै तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।नेपालले समुह चरणमा मलेसिया र म्यानमारलाई पराजित गर्दा वर्षाको कारण थाईल्यान्डसँग अंक बाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्