Logo

भाइरल बन्यो राहुल गान्धी र प्रियंकाको हेलिप्याड भेटको भिडियो



काठमाडौं । लोकसेवा निर्वाचनको माहोलले अहिले भारतलाई तताएको छ । भावी प्रधानमन्त्री चयन गर्ने सो निर्वाचनको परीणाम आफ्नो हातमा पार्ने गरि राजनीतिक दल र तिनाका नेताहरु लागि परेका छन् । यसैक्रममा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धी अहिले लोकसभा चुनावको प्रचार प्रसारमा व्यस्त छन् । प्रचारमा निस्किएका बेला कानपुरमा दाजु–बहिनी राहुल र प्रियंकाको अप्रत्यासित भेट भयो ।

उनीहरुबिच कानपुरको हेलिप्याडमा भेट भएको हो । भिन्दाभिन्दै ठाउँमा चुनाव प्रचारका लागि निस्किएका दाजु–बहिनी हेलिप्याडमा भेटिएका हुन्, उनीहरुले भेटलाई आत्मियता साट्ने माध्यम बनाए ।
यो भेटको भिडियो शेयर गर्दै प्रियंका गान्धीले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘दाइलाई मिस गरिरहेकी थिएँ र उहाँसँग कानपुरको हेलिप्याडमा भेट भयो । अचेल इच्छाहरु पूरा भइरहेका छन् । अब पर्खाई अन्तिम इच्छाको ।’

प्रियंकाले भिडियोको छोटो अंश शेयर गरेकी हुन् । राहुलले त्यसको पूरा भाग शेयर गरेका छन् । राहुलले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘प्रियंकासँग कानपुरमा राम्रो भेट भयो, हामी उत्तर प्रदेशका भिन्न भिन्न ठाउँमा प्रचारका लागि निस्केका थियौँ ।’

राहुल गान्धीले शेयर गरेको भिडियो झण्डै २० लाखपटक हेरिएको छ । यस्तै प्रियंकाले शेयर गरेको भिडियो पनि दुई लाख भन्दा बढि पटक हेरिएको छ । राहुल र प्रियंका एकअर्कासँग निकै सहज देखिएका छन् भिडियोमा । प्रियंका र राहुलले साथमा पाइलटसँग तस्बिर पनि खिचाए । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ र धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्