Logo

प्रदेश १ ले माग्यो प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव



मोरङ । प्रदेश १ को प्रदेश सभाले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव माग गरेको छ । प्रदेशसभाले सूचना प्रकाशित गरेर प्रदेश १ को नाम र स्थायी राजधानी सम्बन्धी प्रस्ताव माग गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनअनुसार प्रदेशसभाले नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । प्रदेशसभा सचिवालयकाअनुसार नाम र राजधानीसम्बन्धी प्रस्ताव यही १९ वैशाखसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउनुपर्नेछ ।

दर्ता भएका प्रस्तावका विषयमा १९ वैशाखको कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सदनमा पेश हुनेछ । प्रदेशसभा १ को हालै संशोधित नियमावलीअनुसार नाम र राजधानीको प्रस्ताव दर्ता गराउन दुईजना समर्थक र एकजना प्रस्तावक चाहिन्छ । ती प्रस्तावमाथि छलफल गरी प्रदेशसभाले बहुमतले निणय गर्नेछ ।

प्रदेशको नामको विषयमा कोशी र सगरमाथा बढी चर्चामा छ भने पहिचानको आधारमा सबै भन्दा बढी किरातको चर्चा रहदै आएको छ । भूगोलका आधारमा प्रदेशको नाम कोशी राख्ने सहमति नजिक दलहरु पुगेको बताइएको छ । प्रदेश १ को राजधानीका लागि विराटनगर, धरान, इटहरी, गोठगाउँ (मोरङ) र धनकुटाले पनि माग गर्दै आएका छन् ।

प्रदेश १ का ९३ सांसदमध्ये नेकपाका ६७, कांगे्रसका २१, संघीय समाजवादी फोरम ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक र एक सांसद छन् । दुई तिहाइका लागि ६२ सांसद चाहिन्छ, जुन सत्तारुढ नेकपा एक्लैसँग छ ।

प्रतिक्रिया दिनुहोस्