Logo

प्रिमियर लिग उपाधि होड थप रोमाञ्चक, शीर्षस्थानमा उक्लियो म्यानचेस्टर सिटी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । लिगका अन्तिम दुई चरणका खेल बाँकी हुँदा उपाधि होड थप रोमाञ्चक बनेको हो । उपाधिका लागि जारी सिजन साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको होड पछिल्लो केही महिनादेखि कडा रुपमा रहेको छ ।

एकअर्कालाई पछि पारेर शीर्षस्थानमा पुग्ने होडको शृङ्खला जारी छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्किएको छ भने लिभरपुल दोस्रो स्थानमा झरेको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफमा गोल रहित भएको खेलमा सिटीलाई जिताउन दोस्रो हाफमा सर्जियो अग्युरोले गोल गरेका हुन् । अग्युरोले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि सिटीको ३६ खेलबाट ९२ अंक भएको छ ।

दोस्रो स्थानमा झरेको लिभरपुलको एक अंक कम अर्थात ९१ अंक छ । अब दुवै टिमले दुई–दुई खेल खेल्न बाँकी छ । बर्नली ४० अंकसहित १५ औँ स्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्