Logo

ला लिगामा १५ वर्षपछि पुछारको टिमसँग पराजित भयो रियल मड्रिड



काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत जारी सिजनमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको रियल मड्रिड सिजनको अन्त्यतिरका खेलमा पनि आफ्नो पुरानो लयमा फर्किन सकेको छैन । जिनेदिन जिदानको प्रशिक्षणमा फर्किएको रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा अप्रत्यासित रुपमा पुछारको टिमसँग पराजित भयो ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिड रायो भालेकानोसँग १–० ले पराजित भएको हो । भालेकानोको जितमा २३ औँ मिनेटमा पाएको पेनाल्टीमा एड्रियन एमबार्बाले गोल गरे । जिसस मालेजोले जाभी गुएरालाई फउल गरेपछि भालेकानोले पेनाल्टी पाएको थियो ।

एमबार्बाले गोल गरेर भालेकानोलाई अग्रता दिलाए । त्यसपछि रियल मड्रिडले गोल फर्काउन सकेन र पराजित हुन बाध्य भयो । रियल मड्रिड लिगको पुछारको टिमसँग पछिल्लो १५ वर्षमा पहिलो पटक पराजित भएको हो । सन् २००४ मा रियल मड्रिड पुछारको टिमसँग पराजित भएको थियो । रियल मड्रिडका लागि आइतबार रातिको खेलमा ग्यारेथ बेलले गोल गरेका थिए तर त्यसले मान्यता पाएन ।

रियल मड्रिडले यो सिजन ला लिगामा १० खेलमा हार बेहोरी सकेको छ । यसअघि सन् २००८–०९ को सिजनमा पनि रियल मड्रिडले १० खेलमा हार बेहोरेको थियो । यस्तै सबै प्रतियोगितामा गरेर उसले यो सिजन १६ खेल हारेको छ, यसअघि सन् २००८–०९ को सिजनमा पनि सबै प्रतियोगितामा १६ खेल हारेको थियो ।

रियल मड्रिडलाई हराएको भालेकानो ३१ अंकसहित १९ औँ स्थानमा उक्लिएको छ । तेस्रोस्थानको रियल मड्रिडको ६५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्