Logo

आर्सनललाई लाग्याे गम्भीर धक्का, लेस्टर सिटीसँग पराजित हुँदा शीर्षचारमा अटाउने सम्भावना कम



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा अटाउने आर्सनलको सम्भावनामा गम्भीर धक्का लागेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीसँग पराजित भएसँगै आर्सनलको शीर्षचारमा अटाउने सम्भावना कम देखिएको हो ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले १० खेलाडीमा सीमित भएको आर्सनललाई ३–० ले पराजित गरेको हो । ३६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै एन्सली मेटल्याण्ड–नाइल्स मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो ।

पहिलो हाफमा गोल गर्न नसकेको लेस्टरले दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि जेमी भर्डीले दुई गोल गरे । उनले ८६ औँ मिनेट तथा इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि ५९ औँ मिनेटमा युरी टिलेमान्सले गोल गरेका थिए ।

हारपछि पाँचौँ स्थानको आर्सनलको ३६ खेलबाट ६६ अंक छ । चौथो स्थानको चेल्सीको ६८ अंक छ । जित निकालेको लेस्टर सिटी ५१ अंकसहित आठौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्