Logo

श्रीलंका विस्फोटका मुख्य योजनाकारका पिता र दाजुभाइको कारबाहीमा मृत्यु, बुर्खा लगाउन प्रतिबन्ध



काठमाडौं । एक साता अघि श्रीलंकामा भएको बम विस्फोटको घटनाका मुख्य योजनाकार तथा आक्रमणकारीका पिता र दाजुभाइ सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । श्रीलंकाको राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा गएको हप्ताको आइतबार भएको शृङ्खलाबद्ध बम आक्रमणमा संलग्न भएको आरोप लागेकाका आफन्तको सुरक्षाकर्मीको कारबाहीको ज्यान गएको हो ।

सुरक्षाकर्मीको कारवाहीको क्रममा आरोपितका पिता तथा दुई दाजुभाइको ज्यान गएको श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।शुक्रबार भएको कारवाहीको क्रममा आरोपित अपराधि जाहरान हाशिमका आफन्तको ज्यान गएको हो । इस्लामिक समूह एनटिजे गठन गरेका हाशिमले इस्टरको दिन माचै २१ मा कोलम्बोको एक होटलमा आफैलाई बिस्फोट गराएका थिए ।

प्रहरीले एनटिजेको हेडक्वाटर रहेको काट्टान्कुडी बजारमा छापामारेको थियो । शुक्रबार छापा मार्ने क्रममा बन्दुकधारीले गोली चलाएपछि आफूहरुले जवाफी कारवाही गरेको सुरक्षाकर्मीले बताएका छन् ।

तीनजनाले आफ्नो शरीरमा बिस्फोटक पदार्थ लगाएको र आफैलाई बिस्फोट गराएको प्रहरीको भनाई छ । यस्तै घटनामा ६ बालबालिका र तीन महिलाको पनि ज्यान गएको प्रहरीको भनाई छ । अरु तीनजनाको भने गोही हानाहानमा ज्यान गएको हो ।

यसैबीच श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले अनुहार छोप्न नपाउने गरि प्रतिबन्ध लगाएका छन् ।मुस्लिम महिलाहरु आक्रमणमा संलग्न हुन सक्ने आशंकमा राष्ट्रपतिले अनुहार छोपिने गरि बुर्खा लगाउन प्रतिबन्ध लगाएका हुन् । शृङ्खलाबद्ध आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको छ । यस्तै ५०० जना भन्दा बढि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्