Logo

भारतमा जातको विवाद, सोधियो भारतीय प्रधानमन्त्री मोदी कुन जातका हुन् ?



काठमाडौं । भारतमा लोकसभा निर्वाचनको माहोलले राजनीतिक दल र तिनका नेताहरुलाई तताएको छ । चुनावी परिणाम आफ्नो पक्ष पार्न नेताहरु आफ्ना प्रतिस्पर्धी र विपक्षीका विरुद्ध बोलिरहेका छन् ।यसैक्रममा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा अभिव्यक्ति दिएकी छन् । अमेठीमा आइतबार पत्रकारसँगको कुराकानीको क्रममा महासचिव प्रियंका गान्धी वाड्राले आफूलाई अहिलेसम्म प्रधानमन्त्री मोदीको जात के हो भन्ने थाहा नभएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘अहिलेसम्म थाहा छैन कि प्रधानमन्त्री कुन कास्ट (जात) को हुनुहुन्छ । र मलाई थाहा भएसम्म विपक्षीले कहिल्यै पनि व्यक्तिको जातका बारेमा कुरा गरेको छैन, विशेष गरि कांग्रेसका नेताहरुले । हामीले मात्रै विकासका मुद्दा उठाएका छौँ । हामीले जनताको चासोका विषयमा मात्रै बोलेका छौँ, व्यक्तिगत आलोचना गरेका छैनौँ ।’

जनताको आदर गर्नु सबैभन्दा ठूलो राष्ट्रवाद रहेको भन्दै उनले जनताको समस्याको हल गर्नु राष्ट्रवाद रहेको दोहोर्याइन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीले जात तथा धर्मको राजनीति गरेको आरोप लगाएका थिए । मायावातीले प्रधानमन्त्री मोदीले आफ्नो स्वार्थका लागि आफूलाई पीछडिएको जातिको बताएको आरोप लगाएकी थिइन् ।

प्रधानमन्त्री मोदीले त्यसको जवाफ पनि दिएका छन् । प्रियंकाले यसअघि भाजपाका नेताहरुले आफ्ना दाइ तथा कांग्रेस अध्यक्ष राहुल गान्धीको जात तथा गोत्रलाई लिएर गरेको विवादप्रति पनि जवाफ दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्