Logo

‘ओभर टाइम’ काम गर्दा २७२ को मृत्यु भएपछि सरकारले गर्‍यो राहतको घोषणा



काठमाडौं । इन्डोनेसिया सरकारले त्यहाँ ओभर टाइम काम गरेको २ सय ७२ जनाको मृत्यु भएपछि राहतको घोषणा गरेको छ । गएको हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेपछि इण्डोनेसिया सरकारले राहतको घोषणा गरेको बीबीसीले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोले भनेका छन्, ‘लाखौं मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परे र २७२ जनाको मृत्यु भयो। ’ प्रवक्ता सुसान्तोका अनुसार ७ लाख जनाले मतगणना र निगरानीमा सहयोग गरेका थिए । उनीहरुले चर्को गर्मीमा रातभर काम गरेका थिए ।

इन्डोनेसियामा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए । यही १७ अप्रिलमा भएको निर्वाचनमा ८ लाख मतदान केन्द्र तोकिएको थियो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धेरै संख्यामा कर्मचारीहरु परिचालन गरिएको थियो । तर, उनीहरुको स्वास्थ्य जाँच गराइएको थिएन ।

निर्वाचन आयोगका प्रवक्ता भन्छन्– त्यसै कारण २७२ जना ओभर टाइमको बिरामीले मरे । यो निकै दुःखद् घटना हो । यस्तो होला भन्ने कल्पना पनि गरिएको थिएन । निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरको दरले राहत दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्