Logo

स्पेनमा समाजवादी पार्टी ठूलाे दल, त्रिशंकु सरकार बन्दै



म्याड्रिड- स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन । अति–दक्षिणपन्थी दलले यसपटक संसदमा प्रवेश पाएसँगै स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलतर्फ उन्मूख भएको छ । प्रधानमन्त्री सान्चेजले अरु साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।सन् २०१७ मा क्याटालोनियाले स्पेनबाट अलग्गिन चाहेयता स्पेनमा राजनीतिक अस्थिरता अझ चुलिएको छ । अस्थिर राजनीतिकै कारण विगत चार वर्षको अवधिमा तेस्रो पटक संसदको निर्वाचन गर्नु परेको छ ।

अतिराष्ट्रवादी भोक्स पार्टीको उदय अर्को चुनौतीको रुपमा देखिएको छ । यो दलले १० प्रतिशतको हाराहारीमा मत पाएको छ । यो दलले बहुसंस्कृति र अनियन्त्रित आप्रवासनको विरोध गर्दछ । सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्यु भएपछि अति–दक्षिणपन्थीको उपस्थिति स्पेनको राजनीतिमा खासै प्रभाव थिएन ।
कूल ३५० रहेको स्पेनको संसदमा सान्चेजको समाजवादी पार्टीले १२३ स्थान जितेको छ । अर्थात् करिब २९ प्रतिशत मत समाजवादी पार्टीले ल्याएको छ । सन् २०१६ मा समाजवादी पार्टीले ८५ स्थानमात्र जितेको थियो ।म्याड्रिडमा आइतबार आयोजित समारोहमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले समाजवादी पार्टीले चुनाव जितेको दाबी गर्नुभयो ।

यस चुनावमा अनुदारवादी पपुलर पार्टी (पीपी) ले निकै ठूलो नोक्सानी व्यहोरेको छ । यस दलले अघिल्लो चुनावमा १३७ स्थान ल्याए पनि यस पटक ६६ स्थान मात्र जितेको छ ।
यस चुनावमा दुई वटा क्याटालान पृथकतावादी पार्टीले पनि राम्रो प्रगति गरेका छन् । सन् २०१६ मा यी दलले १७ स्थान जितेका यस पटक २२ स्थानमा विजयी भएका छन् ।
विजयी भएका पाँच जना पृथकतावादी नेताहरु जेलमै छन् र उनीहरुमाथि स्पेनको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । दक्षिणपन्थी पार्टीहरुले भने प्रधानमन्त्री सान्चेजले पृथकतावादीहरुसँग नरम व्यवहार गरेको र स्पेनलाई टुक्र्याउन खोजेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्