Logo

हैदराबादलाई जितको उपहार दिँदै दर्शकलाई हात हल्लाएर ब्याट चुम्दै विदा भए वार्नर



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)का १२औं संस्करण अन्तर्गत सोमबार राति डेविड वार्नरको टिम सनराइजर्स हैदराबादले किंग्स इलेभन पञ्जाबलाई ४५ रनले हरायो । यो जित डेविड वार्नरको ५६ बलमा सात चौका र दुई छक्काको मद्दतले बनेको ८१ रनको सहाराले सम्भव भएको हो । आइपीएलको जारी सिजनाको आफ्नो अन्तिम खेलमा टिमलाई जितको उपहार दिएका डेविड वार्नर अब देखिने छैनन् ।

उनी विश्वकपको तयारीका लागि आफ्नो देश फर्केने छन् । तर आईपीएल १२ मा वार्नरले गरेको प्रदर्शन क्रिकेट प्रेमीहरुले भुल्ने छैनन्। अन्तिम खेलमा पनि वार्नरले आफ्नो अदभूद क्षमता पर्दशन गरेर हैदराबादका समर्थकको मन मात्रै जितेनन्, विरोधी टीमका समर्थकको मन पनि जिते र सम्पूर्ण खेलाडीका लागि प्रेरणा बने।

पञ्जाब हारेको र हैदराबाद जितेको खेलमा क्रिस गेल र वार्नरले गरेको अंकमालले धेरै कुरा वर्णन गर्छ । वार्नरलाई सम्मान दिँदै गेलले उनलाई अंकमाल गरेका थिए । ५६ बलमा ८१ रन बनाएर आउट भएका वार्नर दर्शकतिर फर्केर ब्याटलाई चुम्दै मैदान बाहिरिएका थिए।

आईपीएल १२ मा चार टीम १० अंकका साथ थिए । हैदराबाद ११ म्याचमा पाँच जितका साथ चार नम्बरमा थियो । सोमबारको जितसँगै हैदराबादको १२ म्याचमा ६ जितका साथ १२ अंक छ । यसको पूरा श्रेय डेविड वार्नरलाई नै जान्छ।

उनले पञ्जावविरुद्ध ७०, दिल्लीविरुद्ध ५१, चेन्नाईविरुद्ध ५०, कोलकात्ताविरद्ध ६७ चेन्नाईविरुद्ध फेरि ५७ र पञ्जावविरुद्ध ८१ रन बनाएर आफ्नो क्षमता देखाए । सोमबारको खेल सकिएसँगै वार्नरले आफ्नो टीमका लागि सकेजतिको योगदान दिएको प्रतिक्रिया दिएका थिए ।

उनले स्वदेश फर्कनुअघि आईपीएलको १२ औँ सिजनमा १२ म्याच खेलेर ६९२ रन बनाए। सोमबार उनी म्यान अफ द म्याच पनि रहे। म्याच सम्पन्न भएपछि पञ्जाबका क्रिस गेलले वार्नरलाई सम्मानस्वरुप अंकमाल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्