Logo

राहुल गान्धी बेलायती नागरिक हुन्? राष्ट्रियता स्पष्ट पार्न गृह मन्त्रालयले जारी गर्‍यो नोटिस



काठमाडौं । भारतको गृह मन्त्रालयले कांग्रेस अध्यक्ष राहुल गान्धीको नागरिकताका विषयमा भएको विवादका बारेमा स्पष्ट पार्न नोटिस जारी गरेको छ। मन्त्रालयले राहुल गान्धीलाई नोटिस पठाएर नागरिकताबारे स्पष्ट पार्न आग्रह गरेको हो। भारतीय जनता पार्टी (भाजपा) का सांसद सुब्रह्मण्यम स्वामीले उजुरी दिँदै कांग्रेस अध्यक्ष गान्धीले २००९ मा आफूलाई बेलायतको नागरिक बताएको दाबी गरेका थिए।

स्वामीले आरोप लगाएका छन् कि राहुल गान्धीले सन् २००३ मा बेलायतमा दर्ता भएको कम्पनी ब्याकअप्स लिमिटेडको दस्तावेजमा आफ्नो नागरिकतामा बेलायती रहेको बताएका थिए। उनी त्यो कम्पनीको निर्देशक तथा सचिव पनि रहेको स्वामीको आरोप छ।

गृह मन्त्रालयले राहुललाई जारी गरेको नोटिसमा सुब्रह्मण्यम स्वामीले आफ्नो उजुरीमा उक्त कम्पनीको २००५ देखि २००६ सम्म वार्षिक रिटर्नमा राहुलले आफूलाई बेलायती नागरिक उल्लेख गरेका छन्।
मन्त्रालयले मंगलबार राहुल गान्धीलाई नोटिस जारी गर्दै यसबारे तथ्यात्मक स्थिति स्पष्ट गर्नका लागि आग्रह गरेको छ।

कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पार्टी अध्यक्ष राहुल गान्धीको नागरिकताका बारेमा गरिएको सवाल खारेज गरेका छन्। राहुल गान्धी भारतीय नागरिक हुन् भन्ने विश्वलाई थाहा छ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँग बेरोजगारी, किसानको दुरावस्था तथा कालो धनका बारेमा जवाफ दिने कुरा नरहेकाले ध्यान भड्काउनका लागि सरकारी नोटिसको सहारामा अफवाह बुनिरहेको आरोप सुरजेवालाले लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्