Logo

केपीएल : मध्यपश्चिम क्रिकेट क्लबलाई हराउँदै आर्मी क्लब सेमिफाइनलमा



सुर्खेत – वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टु) मा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । कालिञ्चोक मैदानमा आज भएको खेलमा आर्मीले मध्यपश्चिम क्रिकेट क्लब, बाँकेलाई १०७ रनले हरायो ।

एक सय ७९ रनको लक्ष्य पाएको मध्यपश्चिम क्रिकेट क्लब १६ दशमलव चार ओभरमा सबै विकेट गुमाई ७१ रनमै समेटियो । मध्यपश्चिमका प्रनित थापामगरले १९, तुल्सीराम अहिमले १२ तथा मनोज सुनार र आकाश विष्टले १०÷१० रन बनाए । बलिङतर्फ आर्मीका कुशल मल्लले चार ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । सुशन भारी र सहाब आलमले दुई÷दुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १७८ रन बनायो ।आर्मीका लागि राजेश पुलामीमगरले ५७, हरि चौहानले ५३ र कप्तान विनोद भण्डारीले २२ रन जोडे । बलिङतर्फ मध्यपश्चिमका अमित तामाङले दुई र भरत थापाले एक विकेट लिए । समूह ‘ए’बाट तीन खेल जितेर कर्णाली–११ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अर्को खेलमा समूह ‘बी’ को न्यु होराइजन बुटवल विजयी भएको छ । बुटवलले हिमालयन क्रिकेट एकेडेमीलाई पाँच विकेटले हरायो । निश्चल चौधरीको अर्धशतकीय पारीसँगै बुटवलले ९३ रनको लक्ष्य १४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । चौधरीले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५० रन बनाए । बलिङतर्फ एकेडेमीका पवन कार्कीले तीन र हेमन्त धामीले दुई विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको हिमालय एकेडेमीले १८ दशमलव दुई ओभरमा सवै विकेट गुमाई ९२ रन बनायो । एकेडेमीका दीपेन्द्रसिंह ऐरीले २५, शरद खड्काले १५, भरत भण्डारीले १३ र केशव साँवदले १० रन बनाए । बलिङतर्फ बुटवलका अर्जुन रायमाझी तीन तथा कप्तान शक्ति गौचन र गोविन्द खत्रीले दुई÷दुई विकेट लिए । बुधबार एपिएफ क्लब र महेन्द्रनगर क्रिकेट एकेडेमीबीच खेल हुनेछ । सो खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्