Logo

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा यार्तुङ महोत्सव शुरु



मुस्ताङ, २७ साउन -हिमालपारीको जिल्ला मुस्ताङको मन्दिरको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा आजदेखि यार्तुङ महोत्सव शुरु भएको छ । मुक्तिनाथसहित यहाँका १९ वटा गाउँका स्थानीयले प्राचीनकालदेखिबर्खासकिएकोखुशियालीमा रमाउँदै यार्तुङ महोत्सव गर्दै आएकामा यस वर्ष बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव गरिएको हो ।

बर्खायाम सकिएको खुशियालीमा यार्तुङ मनाइए पनि सामान्यतः वर्षभरि नै यस क्षेत्रमा पानी कम पर्दछ । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्याप्त पर्यटकीय सम्भावना बोकेको मुस्ताङमा हिजोका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभयो । भौगालिक विकटताका साथै शिक्षा, स्वास्थ्य आदिका कारण यो क्षेत्र पछि परेको बताउँदै उहाँले आगामी दिनमा आवश्यकताअनुरुप पर्यटकीय पूर्वाधार विकास गर्दै लगिने बताउनुभयो ।

पूर्वाधार विकास प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउँदै उहाँले उपल्लो मुस्ताङमा जिओ पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइसकेको जानकारी दिनुभयो । मुस्ताङमा विद्यमान गरीबी आगामी १० वर्षभित्र हटाउने उहाँले उल्लेख गर्नुभयो । मुक्तिनाथ मन्दिर पछिल्ला समयमा फोहर हुनेक्रम बढ्दै गएकामा जोड दिँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले मन्दिर परिसरमा शौचालय, रानीपौवामा ढल निकास लगायतमा सहयोग गर्ने बताउनुभयो ।

मुस्ताङकै छेङ्गुरमा ‘हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न डेढ करोड रुपैयाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो । मुक्तिनाथको विकास समग्र प्रदेशको विकाससँग जोडिएको चर्चा गर्दै उहाँले मुक्तिनाथ, दामोदरकुण्ड जस्ता स्थलको भारत र चीनमा प्रवद्र्धन गरिने बताउनुभयो । आर्थिक वर्ष २०७८÷७९ सम्म कालीगण्डकी करिडोर सम्पन्न गर्ने लक्ष्य रहेको र कोराला नाका खुलाउन पहल भइरहेको बताउँदै मुख्यमन्त्री गुरुङले यो क्षेत्र चाँडै नै सुगम अन्तरराष्ट्रिय व्यापारिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले यार्तुङ जिल्लाको प्राचीन संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि महोत्सवले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।

मुस्ताङमा अहिले पनि कतिपय स्थानीयवासीले लालपूर्जा नपाएकाले त्यस्ता समस्याको समाधान गर्न पहल भइरहेको बताउनुभयो ।प्रदेशसभा सदस्य महेन्द्र थकालीले संस्कृतिको जगेर्ना गर्दै जानुपर्ने बताउँदै महोत्सवले हिमाली क्षेत्रको संस्कृतिलाई बचाइराख्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले संस्कृतिको पुस्तान्तरण हुनु आवश्यक भएको बताउनुभयो ।

यस्ता महोत्सवहरुले सांस्कृतिक जागरण ल्याउन मद्दत पुग्ने उहाँको भनाइ छ ।  बारागुङ गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले हिमाली संस्कृतिको जीवन्तता र पर्यटन प्रवद्र्र्धन गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डिकी गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी, जनप्रीय युवा क्लबका सल्लाहकार सुरज गुरुङलगायतले यार्तुङको महत्व र पर्यटन प्रवद्र्धनका विषयमा प्रकाश पार्नुभयो ।

चार दिनसम्म चल्ने महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, ‘सेवेन ए साइड’ फुटबल प्रतियोगितालगायतका कार्यक्रम हुनेछन् । महोत्सवमा गाउँपालिकाभित्रका १९ वटा गाउँको परम्परागत वेषभूषा प्रदर्शन गरिनुका साथै त्यहाँका विविध संस्कृति देखाइनेछ । महोत्सवमा जिल्लाका विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट समेत नागरिक सहभागी भएका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्