Logo

डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने



भक्तपुर, २७ साउन-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभएको छ ।सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज पुग्नुभएका मन्त्री भट्टराईले यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लागि आफ्नो तर्फबाट सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा मन्त्री भट्टराईले डोलेश्वर मन्दिरको अवलोकनका साथै पूजाआजा पनि गर्नुभएको थियो । सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभयो । उहाँले नगरपालिकाले १० वटै वडामा रहेका शिवालयलाई समेटेर ‘शिव सर्किट’ निर्माण गर्न लागेको बताउनुभयो । घ्याम्पेडाँडा, रानीकोट, आशापुरी, नंखेल, काँक्राबारीलगायत क्षेत्रमा होमस्टे (घरबास) देखि भ्यू टावरसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्