Logo

न्यून आय भएका परिवारका दश जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



बागलुङ, २८ साउन  : न्यून आय भएका परिवारका दश जेहेन्दार विद्यार्थीलाई नेपाल भाषा मंकाः खलः बागलुङले सोमबार शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । खलःमा स्थापित ‘कमल–सिर्जना श्रेष्ठ शैक्षिक कोष–२०७६’ बाट शैक्षिक सामग्री वितरण गरिएको हो ।विद्यार्थीलाई झोला, कपी, पोशाक र जुत्ता प्रदान गरिएको खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

सदरमुकामस्थित विद्यामन्दिर माविका अनिश श्रेष्ठ, दिया शाक्य, लवचन बुढामगर, अमृत आदर्श माविका दिविशा मलेपती र ऋतु शाक्यलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।यस्तै शैक्षिक सामग्री पाउनेमा रुद्रेपिपल माविका आयुश शाक्य, कालीगण्डकी बोर्डिङ स्कूलका अविनाश राजभण्डारी, कालिका कन्या माविका सिलश, आयुष्मा श्रेष्ठ न्यू ओएसिस बोर्डिङ स्कूलका विद्या र दिक्षा श्रेष्ठ छन् । बालबालिकाको पढाइमा सघाउने उद्देश्यले शैक्षिक कोष स्थापना गरेको कोषका संस्थापक कमलप्रसाद श्रेष्ठले बताउनुभयो ।

व्यवसायीसमेत रहनुभएका श्रेष्ठ र उहाँकी श्रीमती सिर्जनाले यसै साता खलःमा रु दुई लाखको कोष खडा गर्नुभएको थियो । “न्यून आय भएका र विपन्न परिवारका विद्यार्थीले समस्या झेलिरहेको पाइएपछि कोष स्थापनाका लागि पहल गरेका हौँ” खलःका अध्यक्ष राजभण्डारीले भन्नुभयो । खलःले शिक्षासँगै कला, संस्कृतिलगायतका क्षेत्रमा पनि कोष स्थापनाका लागि पहल गरिरहेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्