Logo

वनजङ्गल फँडानीका कारण पानीका स्रोत सुक्ने क्रम जारी



जाजरकोट, २९ साउन –   दश वर्षअघि जहाँतहीँ पाइने पानीका स्रोत अहिले कम हुँदै गएका छन् । जथाभावी सडक निर्माण र वनजङ्गल फँडानी कारण पानीका स्रोत सुक्ने क्रम जारी रहेको छ ।विगतमा मूलबाट आउने पानीको मात्रा र अहिले आउने मात्र निकै ठूलो गिरावट आएको स्थानीयवासीको भनाइ छ । दश वर्ष पहिले घर नजिकै जङ्गल पाइथ्यो, अहिले जङ्गल पुग्न चार घण्टाभन्दा बढी हिँड्नु पर्छ । जङ्गल र पानीको अभावकै कारण खेतीयोग्य जमीनमा खेती गर्न सकिएको छैन । हिजोका दिनमा हराभरा भएको जङ्गल अहिले खाली डाँडा र पाखामा परिणत भएका छन् ।

स्थानीयवासीले जङ्गल फँडानी गरेर जग्गा निर्माण गरेपछि जङ्गल मासिएको हो । सामुदायिक वनको कमाउने धन्दा र वन कार्यालयको पहुँच नहुँदा यहाँका जङ्गल दिन प्रतिदिन मासिँदै गएका छन् । जलवायु परिवर्तनको मुख्य मारमा परेको जाजरकोटमा अहिले जङ्गल जोगाउनेभन्दा पनि अतिक्रमण गर्नेको सङ्ख्या अत्यधिक बढेको छ ।जथाभावी पशु चौपाया जङ्गलमा छाडा छाड्ने र संरक्षणमा ध्यान नदिँदा जङ्गल मासिने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय, जाजरकोटले बताएको छ । जङ्गल मासिएसँगै पानीका मुहान कम हुँदै गएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी जथाभावी डोजरको बलमा सडक निर्माण गरिँदा कतिपय ठाउँमा पानीका मूल पुरिएका छन् । गाउँगाउँमा पानीबाट सञ्चालन भएका अन्न सिस्न प्रयोग हुने पानी घट्टसमेत पानीको अभावमा लोप हुँदै गएका छन् ।जिल्लाका सात वटा स्थानीय तहमा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ । ऐलानी जग्गा निर्माण गरी जथाभावी घर टहरा निर्माण गर्दा जङ्गल अहिले मानवीय बस्तीको रुपमा विकास भएको छ ।

तीन वर्षअघिको सर्वेक्षणले पाँच हजार १०० हेक्टर जमीन अतिक्रमण भएको देखिएको डिभिजन वन कार्यालयका योजना शाखा पूर्ण चन्दले जानकारी दिनुभयो । वन अतिक्रमण गर्नेमा राजनीतिक दलका कार्यकर्ता सबैभन्दा अघि देखिएका छन् । सदरमुकाम खलङ्गा वा गाउँमा वन अतिक्रमण गरी दलका कार्यकर्ता र व्यापारीले घरटहरा बनाउने लगायतका कार्य गरेकाले अतिक्रमण हटाउन पटकपटक प्रयास गर्दा पनि समस्या भएको वन डिभिजन कार्यालयले जनाएको छ ।

विसं २०७० भन्दाअघि ५१८ घरधुरीले वन अतिक्रमण गरी घरटहरा बनाएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । तत्कालीन अवस्थामा १८ घरधुरीले ६७२ दशमलव दुई रोपनी वन अतिक्रमण गरेका थिए । यसैगरी २०७० देखि २०७२ माघसम्म थप नौ घरधुरीले १४७ दशमलव ३५ रोपनी वन क्षेत्र अतिक्रमण गरी घर टहरा बनाएको तथ्याङ्कमा उल्लेख छ ।हालसम्म जिल्लामा दुई हजार ९४३ घरधुरीले पाँच हजार १०० हेक्टर वन अतिक्रमण गरेको वनको तथ्याङ्कमा उल्लेख छ ।

यसबीचमा डिभिजन वनले १३२ हेक्टर अतिक्रमित वन क्षेत्र हटाइएको छ ।डिभिजन वनले बेलाबेला अतिक्रमण हटाउने प्रयास गरेपनि केही राजनीतिक दलको अवरोधपछि उक्त कार्य रोकिएको छ । पछिल्लो समय जिल्ला वनले अतिक्रमण रोक्न ठोस पहल नगर्दा अतिक्रमण गर्नेको सङ्ख्या बढेको आम नागरिकको बुझाइ छ ।

दुर्लभ पक्षी लोप हुँदै

जिल्लाका नायकवाडा, रोकायगाउँ, रामीडाँडा, सक्ला, खगेनकोट, लहँ, रग्दा, भगवती, पैक, ढिमे, झाप्रा, अर्छानीलगायतका स्थानमा पाइने चिरकालीजलाई स्थानीय शिकारीले पासो थापेर मार्ने गरेको राष्ट्रिय पक्षी संरक्षण सङ्घका सदस्यसमेत रहेका पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिँहले बताउनुभयो । विश्वमै दुर्लभ पक्षीलाई चेतनाको अभावमा मार्ने गरिएको उहाँको भनाइ छ ।यसको संरक्षणको लागि अहिलेसम्म कुनै निकायबाट पहल भएको छैन । सरकारले नौ प्रजातिका संरक्षित चराको सूचीमा चिरकालीजलाई राखेको छ ।

यसलाई मारेमा कानूनी कारवाही हुने व्यवस्थासमेत गरिएको छ तर नियामक निकायले बेवास्ता गर्दा र यसको महत्वबारे स्थानीयलाई जानकारी नहुँदा चिरकालीज मार्ने क्रम बढिरहेको हो ।चोरी शिकारीका साथै वनजङ्गलको विनाश र आगलागीका कारण पनि चिरकालीजलाई प्रतिकूल असर परिरहेको छ । जनचेतनामूलक कार्यक्रमका माध्यमबाट यसको संरक्षण गर्नसके जाजरकोटमा चिरकालीजलाई प्रशस्त मात्रामा वृद्धि गर्न सकिने पशु स्वास्थ्य प्राविधिक सिंहको भनाइ छ ।

पक्षी विज्ञ कृष्णप्रसाद भुसालको टोलीले चार वर्ष अघि जाजरकोटमा गरेको एक स्थलगत अध्ययनबाट चिरकालीज रहेको तथ्य फेला पारे पनि अहिलेसम्म संरक्षणका लागि कुनै पहल गरिएको छैन । चिरकालीज पाइने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने संरक्षणविद्को भनाइ छ ।चिरकालीजलाई स्थानीयले भरुवा बन्दुकले गोली हानेर तथा पासो थापेर मार्ने गरेका छन् । भौगोलिक विकटता र असुरक्षाका कारण चिरकालीजको चोरी शिकारी बढ्दै गएको हो । समयमै संरक्षण नगर्ने हो भने यहाँको चिरकालीज पनि लोप हुने अवस्थामा पुगेका हुन् ।

पारस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न वन्यजन्तु संरक्षण गर्नुपर्छ । मानव र जीवजन्तुबीचको अन्तरक्रियाले मानव समाज, आर्थिक तथा सांस्कृतिक जनजीवन, वन्यजन्तुुको संरक्षण र वातावरणमा नकरात्मक असर पुु¥याउँछ निमित्त डिभिजन प्रमुख महेश कुमाईले भन्नुभयो, “वन्यजन्तुको वासस्थान विनाश हुनु, खानेकुराको अभाव, वन अतिक्रमण, वन क्षेत्रमा मानवीय चापले गर्दा मानव र वन्यजन्तुबीच द्वन्द्व सिर्जना हुन्छ ।”(रासस)

प्रतिक्रिया दिनुहोस्