Logo

आवश्यक सावधानी नअपनाउँदा नवलपरासीमा सर्पदंशका बिरामी बढ्दै



परासी, २९ साउन  : आवश्यक सावधानी नअपनाउँदा पछिल्लो समय पश्चिम नवलपरासीमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । जिल्लाका विभिन्न अस्पतालमा अहिले दैनिक सर्पदंशका बिरामी आउने गरेका छन् ।बढ्दो गर्मी र वर्षात्को मौसमसँगै सर्पको बिगबिगी बढेको तर यसबाट बच्न आवश्यक सुरक्षाका उपाय नअपनाउँदा सर्पको डसाइबाट प्रभावित बढेका चिकित्सकले बताएका छन् । पृथ्वीचन्द्र अस्पताल परासीका प्रबन्धक सुरेन्द्र अधिकारीले गर्मीसँगै वर्षाको मौसम भएकाले प्रत्येक दिनजसो नै सर्पले मानिसलाई टोक्न थालेका बताउनुभयो ।यसैगरी बर्दघाटस्थित चिसापानी अस्पतालमा पनि दैनिक तीन÷चार जनाका दरले सर्पदंशका बिरामी आउने गरेको उक्त अस्पतालले जनाएको छ ।

पश्चिम नवलपरासीका अस्पतालमा भेन्टिलेटरको सुविधा नभएकाले प्रारम्भिक उपचारपछि सर्पदंशका बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको छ ।सर्पको डसाइपछि अस्पतालमा आउने बिरामीलाई पहिला परीक्षणमा राखी सर्पदंंशको लक्षण देखिएपछि मात्र एन्टीस्नेक दिएर प्रारम्भिक उपचार गर्ने र त्यसपछि थप उपचारका लागि बुटवल चलान गर्ने गरिएको चिसापानी अस्पतालले जनाएको छ ।परासी र चिसापानी दुवै अस्पतालमा भेन्टिलेटरको सुविधा नभएकाले बिरामीलाई एन्टीस्नेक भेनम दिएर प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल चलान गर्ने गरिएको छ ।

समयमै आउने बिरामीको उपचारपछि निको हुने सम्भावना बढी हुने गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक डा मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।उहाँका अनुसार वर्षाका कारण आएको बाढीले गर्दा जमीनमुनि रहने सर्प मानिसको बस्तीभित्र छिर्ने गर्दछन् । अहिले पनि धेरै सर्पदंशका बिरामी घरेलु उपचार र धामीझाँक्रीको भर पर्ने गरेका उहाँको भनाइ छ । वैशाखदेखि असोजसम्म सर्पको बढी जोखिम हुने गरेकाले आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्