Logo

भोजपुरमा आम्दानीको मुख्य स्रोत बन्दै रुद्राक्ष खेती



भोजपुर, १२ भदौ – भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले बताउनुभयो ।यो वर्ष व्यापारीले रुद्राक्ष बगैँचाबाट ठेक्कामा लिन शुरु गरिसकेका छन् ।

भोजपुरमा एक किसानले २५ देखि २०० वटासम्म रुद्राक्षका रूख रोपेर आम्दानी लिँदै आएका छन् । धेरै मुख भएको एउटै दानाको रु २१ लाखमा समेत किसानले बिक्री गरेको उदाहरण छ । गत वर्ष भोजपुरका एक किसानले एउटा रूखलाई रु ५५ लाखमा बिक्री गरे भने अर्का एक किसानका परिवारले तीन वर्षका लागि रु एक करोडमा रुद्राक्षको बगैँचा नै बिक्री गरेका छन् ।विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गर्छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्छ । यसको मूल्य मुख र आकारका आधारमा कम तथा बढी तोकिने व्यापारीहरु बताउँछन् । गत वर्ष दुई मुखेलाई २० हजारदेखि ३० हजारसम्म र तीन मुखेलाई ३०० देखि ५०० सम्म, पाँच मुखेलाई ४० देखि १०० सम्म र सात मुखेलाई ५०० देखि एक हजार रुपैयाँसम्ममा किनबेच भएको थियो ।

यसैगरी, आठ मुखेलाई एक हजार ५०० देखि तीन हजारसम्म, ९, १० र ११ मुखेलाई पाँच हजारदेखि १० हजारसम्म तथा १२ मुखेलाई सात हजारदेखि १२ हजारसम्म, १३ मुखेलाई १० हजारदेखि १५ हजारसम्म र १४ मुखेलाई २५ हजारभन्दा बढीमा बिक्री भएको कृषकले बताएका छन् ।बीस मुखे रुद्राक्ष पाँच लाखदेखि १५ लाखभन्दा माथि, २७ र २८ मुखे ४० लाखभन्दा बढीमा कारोबार हुन्छ । भोजपुरमा वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यापारी जिसी बताउनुहुन्छ । “चार वर्ष यता ४, ५ र ६ मुखेको रुद्राक्षको माग अत्यधिक बढेको छ,” भोजपुरका व्यापारी मक्कर तामाङले भन्नुभयो – “भोजपुरको दिङ्ला क्षेत्रमा फलेको एउटै रुद्राक्ष ५० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।”

विगतका वर्षमा जिल्लाभर करीब १५ टनसम्म रुद्राक्ष उत्पादन भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत श्रीनारायण यादवले जानकारी दिनुभयो । भोजपुरको उत्तरी क्षेत्रमा प्रशस्त मात्रामा रुद्राक्ष उत्पादन हुने भए पनि सङ्खुवासभातिर सिधै निर्यात हुने भएकाले यकिन तथ्याङ्क राख्न नसकिएको यादवको भनाइ छ ।धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने, बजार मूल्य पनि राम्रो पाइने भएकाले कृषकले खेतीयोग्य जमीन मासेर रुद्राक्ष खेती गर्ने गरेको स्थानीयवासी श्रीकृष्ण बोगटी बताउनुहुन्छ । उहाँका अनुसार रुद्राक्ष खेतीबाट भोजपुरका स्थानीयवासीको जीवनमा नसोचेको परिवर्तन आएको छ ।

न्यून आम्दानी हुने परिवारले अहिले रुद्राक्ष खेती गरेर काठमाडौँमै घर बनाएका छन् भने कतिपय काठमाडाँै, धरान, विराटनगर जस्ता ठूला शहरमा बसाइँ सरिसकेका छन् । “यहाँका रुद्राक्ष किसान तथा व्यापारीको घरमा महङ्गो मूल्य पर्ने मोटरसाइकल तथा अन्य सवारी साधन देख्न सकिन्छ,” उहाँले भन्नुभयो । भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार नै हो ।खाँदबारीमा खरिद हुने रुद्राक्ष तराईका जिल्ला, काठमाडौँ र भारतमा समेत निर्यात हुने गर्दछ । यस्तै, हाल चीन, यूरोप, अमेरिकालगायत मुलुकमा समेत रुद्राक्ष निर्यात हुने गरेको छ । चार वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र छ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसान थप उत्साहित भएका छन् ।

अहिले चिनियाँ व्यापारी किसानको घरघरमै आउने गरेका छन् । रुद्राक्षको कारोबार फस्टाउन थालेपछि षडानन्द नगरपालिकाले निकासी कर लिने निर्णयसमेत गरेको छ ।भोजपुरमा रुद्राक्षको इतिहास खोतल्दा १९३२ सालभन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ पाइन्छ । रुद्राक्ष धार्मिक कार्यमै बढी प्रयोग हुन्छ । एकमुखेदेखि २१ मुखेसम्मका रुद्राक्षबारे महापुराणमा वर्णन गरिएको दिङ्लाबजारका तोयानाथ गौतम बताउनुहुन्छ ।रुद्राक्ष रातो, कालो, सेतो र पहेँलो रङको पाइएको छ । कालो रङको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ । यस्तै, जुन रुद्राक्षमा प्वाल नपारिकन धागो छिराउन सकिन्छ त्यसलाई सबैभन्दा सर्वश्रेष्ठ मानिन्छ । भोजपुरको नेपालेडाँडा, कुदाकाउले, देउसाली, मूलपानी, केउरेनीपानीलगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुन्छ ।

रुद्राक्षको हेरचाह, गोडमेल सँगसँगै यसको प्रशोधन पनि गर्नुपर्छ । रुद्राक्षको खेतीबाट करीब दुई–तीन हजार कृषकले मौसमी रोजगारीसमेत पाएका छन् । अन्य बालीलाई जस्तो धेरै मिहिनेत गर्नु नपर्ने र राम्रो आम्दानी हुने भएकाले धेरै कृषकको रोजाइमा यसको खेती पर्ने गरेको छ ।पछिल्लो समय यसतर्फ सबैको आकर्षण बढेकाले रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढेको स्थानीय किसानको गुनासो छ । कतिपय किसानले त यसको सुरक्षाका लागि बोटमै सिसी क्यामेरासमेत जडान गरेका छन् । प्रहरी प्रशासनले सुरक्षा दिने प्रयत्न गरेको भए पनि सुरक्षा दिन सकिरहेको स्थिति छैन ।

स्थानीय सरकारले यसको सुरक्षाको प्रबन्ध मिलाइदिनुपर्ने उनीहरुको माग छ । पछिल्लो समय रुद्राक्षको दाना राम्रो बनाउने बहानामा किसानबाट बगान खरिद गरेपछि ठेकेदारहरुले प्लास्टिकको क्लिप लगाउने चलन पनि बढेको छ । यसले रुद्राक्षलाई अप्राकृतिक बनाउने भएकाले प्रहरीले हटाएको थियो । यस विषयमा कृषक भने अनभिज्ञ छन् । प्रहरीले षडानन्द नगरपालिकाको केउरेपानी, मूलपानी लगायतको ठाउँमा रुद्राक्षको दानामा लगाएको त्यस्ता क्लिप हटाएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्