Logo

उत्पादित आलु भण्डारण गरी बेमौसममा बिक्री गर्न आलु चिस्यान केन्द्र निर्माण



गलकोट, १८ भदौ: उत्पादित आलु भण्डारण गरी बेमौसममा बिक्री गर्न काठेखोला गाउँपालिका–३ धम्जामा सहकारीको अगुवाइमा आलु चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिएको छ । धम्जामा क्रियाशील हिमचुली कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा रु २७ लाखको लागतमा आलु चिस्यान केन्द्र निर्माण गरिएको हो ।आलुको पकेट क्षेत्रका रुपमा चिनिने धम्जामा भण्डारणको अभावका कारण सस्तो मूल्यमा बिक्री गर्दा किसान मर्कामा पर्दै आएका कारण चिस्यान केन्द्र निर्माण गरिएको सहकारीले जनाएको छ ।

धम्जामा मुख्य बालीका रुपमा आलुखेती गरिन्छ । चिसो स्थानमा उत्पादन भएका आलु निकै स्वादिष्ट भएका कारण यहाँको आलुले राम्रो बजार लिँदै आएको छ । एकैपटक उत्पादन हुने आलु बारीबाटै बिक्री गर्दा किसानले भनेजस्तो मूल्य नपाउने समस्यालाई मध्यनजर गर्दै चिस्यान केन्द्र निर्माण गरिएको सहकारीका सचिव गोपाल श्रीसले बताउनुभयो ।“कृषकले उत्पादन गरेको आलु व्यवस्थित तरिकाले भण्डारण गर्न नसक्दा सस्तो मूल्यमा बिक्री हुँदै आएको थियो”, श्रीसले भन्नुभयो, “चिस्यान केन्द्रमा भण्डारणपश्चात आलुलाई दोब्बर बढी मूल्यमा बिक्री गर्न सकिन्छ ।”

गण्डकी प्रदेश सरकारको रु १४ लाख ३० हजार, गाउँपालिकाबाट रु चार लाख १२ हजार, रु पाँच लाख सहकारी र स्थानीय कृषकको रु. पाँच लाख ५० हजार बराबरको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको सहकारीले जनाएको छ । आलुका लागि उर्वरभूमि रहेको धम्जामा चिस्यान केन्द्रको अभावमा कृषक निरुत्साहित भएका कारण चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको प्रदेश सदस्य इन्द्रलाल सापकोटाले बताउनुभयो । सहकारीमा आबद्ध ६० शेयर सदस्य तथा अन्य किसानले उपभोग गर्ने गरी चिस्यान केन्द्र निर्माण गरिएको वडा नं ३ का वडाध्यक्ष याम श्रीसले बताउनुभयो । धम्जामा वार्षिक रु एक करोड बढीको आलु उत्पादन हुँदै आएको छ ।

वडा कार्यालयले गाउँपालिकाकोे सहयोगमा धम्जालाई आलुको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिरहेको उहाँले जानकारी दिनुभयो । बागलुङमा ढोरपाटन, ताराखोला, तमानखोला, निसीखोला, धम्जालगायतका स्थान आलु उत्पादनका हिसाबले राम्रा स्थान मानिन्छन् । करीब २०० क्विन्टल आलु राख्ने क्षमता भएको चिस्यान केन्द्र निर्माणसँगै यहाँका कृषक हर्षित भएका छन् ।चिस्यान केन्द्रमा बिक्री र बीउका लागि छुट्टाछुट्टै भण्डारण गर्न मिल्ने व्यवस्था गरिएको छ । सहकारीले सञ्चालन कार्यविधि बनाएर चिस्यान केन्द्रलाई सञ्चालन गरिने अध्यक्ष श्रीसले बताउनुभयो । चिस्यान केन्द्रमा आलु राखेवापत शेयर सदस्य तथा अन्य किसानले विद्युत् महसुल तथा हेरालुखर्च व्योहोर्नुपर्ने हुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्