Logo

सुनको मूल्य तोलाको एक हजारले बढ्यो



काठमाडौँ, १८ भदौ –  भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ५०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार पनि सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भई तोलाको रु ७२ हजार ५०० मा कारोवार भएको थियो ।त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोवार भएको थियो ।

सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ३५ ले वृद्धि भई ९४० पुगेको छ ।पछिल्लो १५ दिनमा सुनको मूल्य छ पटक बढेको छ भने तीन पटक घटेको छ ।भदौको शुरुआतदेखि आजसम्म सुनको मूल्य प्रतितोला रु दुई हजार ५०० ले वृद्धि भएको छ । भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० कायम भएको थियो ।साउन महीनाको शुरुआतदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा मात्रै सुनको मूल्य करीब रु सात हजार ५०० ले वृद्धि भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा पनि मूल्य बढेको महासङ्घले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५३७.५९ अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्यले नेपाली बजारलाई दबाबमा पारेको हो ।बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ । पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणा गरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आँकलन गरिएको छ । अहिले बजारमा सुनको बिक्री ठप्प प्रायः रहेको व्यवसायी बताउँछन् । (रासस)

प्रतिक्रिया दिनुहोस्