Logo

बेनी–बरङ्जा १० किलोमिटर कृषि सडकको स्तरोन्नति



गलेश्वर, २४ भदौ  – म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोडेने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ ।एक दशकअघि विसं २०६३ मा ‘ट्र्याक’ मात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले रु ४८ लाख ५० हजार विनियोजन गरेपनि बजेट अभावका कारण स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल ५३ लाखको लागतमा सडक फराकिलो बनाउने, जमीनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ‘ट्र्याक’ खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सडक खण्ड अन्तर्गत नयाँ पुलमा एक सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा एक सय मिटर नयाँ ट्र्याक खोलिएको छ । सडक स्तरोन्नतिको स्थलगत अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले सचेत उपभोक्ताको सक्रियतामा कम लागतमा धेरै काम भएको प्रतिक्रिया दिनुभयो ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यस सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा सावित हुने स्थानीयवासीले बताएका छन् । बेनी नगरपालिका– २ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म जोड्ने सडकको रुपमा यस सडकलाई विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

बिरामीको उपचारमा एक करोड ९० लाख सहयोग

म्याग्दीको एक संस्थाले गरीब बिरामीको उपचारका लागि रु एक करोड ९० लाख आर्थिक सहयोग गरेको छ । विसं २०७१ मा स्थापना भएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ६ वर्षमा १२० भन्दा बढी गरीब बिरामीको उपचारका लागि रु एक करोड ९० लाख सहयोग गरेर नेपालकै नमूना परोपकारी संस्थाको रुपमा स्थापित भएको हो ।कोषले स्थापनाकालदेखि हालसम्म रु एक करोड ८९ लाख ८२ हजार ८७६ आर्थिक सङ्कलन गरी १२९ जना बिरामीको उपचारका लागि रु एक करोड ९० लाख सहयोग गरेको ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

यसैगरी रु डेढ करोडको अक्षय कोष अभियानमा लागेको ओमकुमारी शान्ति कोषमा हालसम्म रु ८४ लाख ४९ हजार ५३२ मूल कोषमा जम्मा भएको उपाध्यक्ष गौतमले बताउनुभयो । कोषमा सात सयको हाराहारीमा आजीवन सदस्य रहेका छन् । न्यूनतम रु चार हजारदेखि १५ लाखसम्म बिरामीको उपचारमा खर्च भएको छ ।हाइपोप्लाष्टिक एनिमिला रोगबाट ग्रसित बनेकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति) को उपचारका लागि सहयोग जुटाउने उद्देश्यले म्याग्दीका केही मनकारी व्यक्तिको अग्रसरतामा स्थापना भएको यस संस्थाले छोटो समयमा नै परोपकार र मानवतावादको नयाँ परिभाषा स्थापित गर्न सफल भएको कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।

गत माघमा आफ्नो ३० प्रतिशत कलेजो काटेर नौ महिने बालिकामा प्रत्यारोपण गरी बालिकालाई बचाएका संस्थापक केसीका अनुसार ‘२०७१ सालमा जसको उपचारमा आर्थिक सहयोग जुटाउने र जीवन बचाउने उद्देश्यले सहयोग सङ्कलन अभियान सञ्चालन गरियो तर दुर्भाग्य, पर्याप्त आर्थिक र सयौं मानिसको शुभेच्छा हुँदाहुँदै पनि उनै ओमकुमारी पुन (शान्ति) ले यो संसार छोडेर गइन् । बाँकी रहेको उनको चाहना र उपचार गरेर बचेको रु १३ लाखबाट उनकै नाममा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका विपन्न बिरामीलाई आर्थिक सहयोग गरी उपचारमा मद्दत पु¥याउने उद्देश्यले ओमकुमारी शान्ति कोषको स्थापना भएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्