Logo

वर्षायाममा पनि खानेपानीको अभाव कायमै, स्थानीय मारमा



बारा, २५ भदौ- बाराको जितपुर सिमरा उपमहानगरपालिकाअन्र्तगत पर्ने अम्लेखगञ्ज क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ । खाने पानीका लागि स्थानीय पुराना धारा, नदी, प्राचीन ढुङ्गेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । यसको प्रभाव अति व्यस्त पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीगञ्ज राजमार्गको आसपासमा रहेका होटलमा समेत परेको छ ।लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको भनाइ छ ।

स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरु मारमा परेको स्थानीय कृष्णबहादुर विकले बताउनुभयो ।शुद्ध खानेपानीको अभाव झेलिरहेका यस क्षेत्रका स्थानीय अहिले खोला तथा कुवाको पानी खाँदा बिरामी पर्न थालेका छन् । पिउने पानीको अभाव भएको छ । खाना बनाउने खाने तथा सरसफाइ गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरिएको छ । पानी फोहर भएका कारण स्वास्थ्य समस्या देखा पर्न थालेको स्थानीय मायादेवी लामाले बताउनुभयो ।

सो क्षेत्रमा खानेपानीको अभाव रहेको जानकारी भएको र त्यसको व्यवस्थापनमा निरन्तर लागि परेको उपमहानगरपालिका–२१ का वडाध्यक्ष कृष्णबहादुर ठकुरीले बताउनुभयो । उपमहानगरपालिकाले पनि सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि काम शुरु गरिसकेको उहाँको भनाइ छ ।चुरे पहाडको फेदीमा खानेपानी अभाव भन्ने सुन्दा अचम्म लागे पनि सो क्षेत्रमा खानेपानी समस्या पुरानै रहेको वडा नम्बर २२ का अध्यक्ष मानिकलाल थिङले बताउनुभयो ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी समस्या समाधानमा आफूहरु लागि परेको थिङको भनाइ छ । सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि नयाँबिजौरीको ४ नम्बर पुल छेउ र १ नम्बर पुल छेउको मुहानको प्रयोग गर्ने तयारी भइरहेको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्