Logo

अर्बुद्ध रोगपीडितलाई एक लाख ६०० आर्थिक सहयोग



दमौली, २६ भदौ – वैदेशिक रोजगारीमा कतार पुगेका तनहुँवासीको संस्था रिसिङ प्रवासी युवा समाज दोहा कतारले अर्बुद्ध रोगबाट पीडित व्यास नगरपालिका–१ भादगाउँ निवासी दिलप्रसाद आलेलाई रु एक लाख ६०० आर्थिक सहयोग गरेको छ ।लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित भई उपचार गराइरहनुभएका आलेलाई सहयोग गर्न समाजले कतारमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सोही अभियानबाट सङ्कलित उक्त रकम समाजका अध्यक्ष टीकाराम आलेमार्फत संस्थापक अध्यक्ष कविराज श्रेष्ठले पीडित आलेलाई हस्तान्तरण गर्नुभएको छ ।

सामाजिक काम गर्ने उद्देश्यसहित गठन भएको संस्थामार्फत जिल्लावासीलाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष आलेको भनाइ छ । “समाजले दुःखमा परेका र बिरामी भई उपचाररत रहेका अन्य व्यक्तिलाई पनि सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “कतारमै दुःख परेका नेपालीलाई समेत सहयोग गर्ने काम समाजले गरेको छ ।”

यसैगरी भीमाद नगरपालिका–९ मोहोरिया निवासी अर्बुद्ध रोगपीडित विष्णुमाया थापाको उपचारार्थ सहयोग गर्ने उद्देश्यले कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारीको क्रममा कतारमा कार्यरत भीमाद नगरपालिका–९ सखेपका कमल गुरुङ, पाथर्दीका अर्जुन थापा, गणेशपुरका श्रीराम शाही, लोकेन्द्र शाहीलगायतको पहलमा त्यहाँका नेपालीबाट सङ्कलित रु ४६ हजार पीडितलाई प्रदान गरिएको छ ।उक्त रकम भीमाद नगरपालिका–९ का कार्यवाहक अध्यक्ष बाबुराम रानाको रोहवरमा पीडितका श्रीमान् झमकलाल थापालाई प्रदान गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्