Logo

तिहारको अवसरमा पुरुष डबल्स खुला ब्याडमिन्टन प्रतियोगिता शुरु



भीमदत्तनगर, ८ कात्तिक -कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आजदेखि पुरुष डबल्स खुला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । तिहारको अवसरमा शुक्लाफाँटा ब्याडमिन्टन सङ्घको आयोजनामा शुरु भएको सो प्रतियोगितामा २८ टोली सहभागी छन् ।शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले खेलकूदको विकास र विस्तारका लागि नगरपालिका योजनासहित लागि परेको बताउनुभयो । “हामीले खेल प्रतियोगिता नियमित रुपमा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “खेलकूदमा लगानी बढाउँदै गएका छौँ ।” नगरप्रमुख ऐरले वडास्तरमा समेत खेल गतिविधि सञ्चालन भइरहेको बताउनुभयो ।

शुक्लाफाँटा ब्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले ग्रामीणस्तरमा ब्याडमिन्टनको लोकप्रियता बढ्दै गएको बताउनुभयो । “पूर्वाधार नभएको अवस्थामा पनि प्रतियोगिता सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रतियोगितामा शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाका खेलाडी सहभागी छन् । आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टोलीले रु २५ हजार, दोस्रोले रु १५ हजार तथा तेस्रोले रु दश हजार पुरस्कार प्राप्त गर्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्