Logo

किसानको दैलोमै पुग्यो अनुदानको गहुँको बीउ



बाजुरा, ९ कात्तिक :कृषि ज्ञान केन्द्रले यस पटक समयमै जिल्लाका नौवटै स्थानीय तहमा २६ क्विन्टल प्रजनन बीउ र ४० क्विन्टल उन्नत बीउ पठाएको छ । किसानले गहुँ छर्न शुरु नगर्दै ज्ञान केन्द्रले स्थानीय तहमार्फत किसानको दैलोमै उन्नत जातको बीउ पठाएको हो ।जिल्लाका विभिन्न ठाउँको हावापानी अनुकूल र माटो सुहाउँदो प्राविधिक परीक्षण गरिएका पाँच जातका बीउ किसानलाई वितरण गर्न स्थानीय तहलाई जिम्मा लगाइएको कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो । किसानको मागलाई आधार मानेर प्रत्येक स्थानीय तहमा बीउ पठाइएको उहाँको भनाइ छ । समयमै बीउ नपुग्ने र पुरानै जातको बीउ प्रयोग गर्नुपर्ने किसानको गुनासोलाई सम्बोधन गर्न समयअगावै बीउ पठाइएको कृषि ज्ञान केन्दले जनाएको छ ।

जिल्लामै उत्पादन गरिएको उन्नत जातको बीउ किसानका लागि अनुदानमा पठाइएको छ भने बाहिरबाट ल्याइएको प्रजनन बीउ पनि वितरण गर्न लागिएको हो । यो वर्ष डब्लुके १२०४, डाँफे, च्याखुरा, स्वर्गद्वारी, पासाङ ल्हामु गरी पाँच जातका बीउ अनुदानमा वितरण गर्न लागिएको हो । रु ९० प्रतिकेजी बीउमा ५० प्रतिशत अनुदानसहित रु ४५ मा वितरण गर्न लागिएको हो । माटो परीक्षण गरेर, जिल्लाकै माटोमा उत्पादन गरिएको बीउ भएकाले किसानले कुनै शङ्का नमानेर नै बीउ प्रयोग गर्न कृषि ज्ञान केन्द्रको सुझाव छ ।

जिल्लामा १० हजार ४५० हेक्टरमा गहुँ खेती गर्ने गरिएको छ । त्यसमा १६ हजार ५०० मेट्रिक टन उत्पादन हुने गरेको छ । जिल्लामा प्रतिहेक्टर १.५८ प्रतिशत गहुँ उत्पादन हुने गरेको छ । गहुँ उत्पादन क्षेत्र हेरेर नै बीउ सम्बन्धित स्थानीय तहमा पठाइएको छ । प्रजनन बीउ बूढीगङ्गा नगरपालिकालाई मात्र दिइएको छ । उर्बराशक्ति भएको जमीन क्षेत्र र राम्रो उत्पादन हुने ठूलो हेक्टर एकै पट्टीको जमीन भएकाले सो नगरपालिकालाई जिम्मा दिइएको छ भने उन्नत जातको बीउ पनि निश्चित वितरण नगरी कम्तीमा ४० किलोसम्म छर्नका लागि किसानले लिन सक्ने गरिएको छ ।

उन्नत जातको बीउ जिल्लामा हातेमालो कृषि सहकारी संस्था बूढीगङ्गा–३ ले उत्पादन गरेको हो । यो वर्षदेखि नै जिल्ला बाहिरबाट बीउ ल्याउन छाडिएको छ । गहुँको बीउमा जिल्ला आफैँ आत्मनिर्भर बनेको छ । करिब ६६ क्विन्टल बीउ अपुग देखिए तत्काल थप गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । आफैँले उत्पादन गरेको र परम्परागत बीउको प्रयोगले उत्पादन घट्ने र मेहनत बढी लगाउनुपर्ने भएकाले नयाँनयाँ बीउको प्रयोग गर्न र प्राङ्गारिक मलमात्र गहुँमा हाल्न कृषि प्राविधिकको सुझाव छ । (रासस)

प्रतिक्रिया दिनुहोस्