Logo

तिहारको खर्च जुटाउन सयपत्री र गोदावरी फूल बिक्री गर्दै सविता



ललितपुर, १० कात्तिक -गोदावरी नगरपालिका–५ लेलेकी सविता घिमिरे तिहारको खर्च जुटाउन सयपत्री र गोदावरी फूल बिक्री गर्दै हुनुहुन्थ्यो । हरेक वर्ष तिहारमा फूल व्यापार गरी भाइ मसलाका लागि खर्च जुटाउने गरेको उहाँ बताउनुहुन्छ । पाटनमा तिहारको चहलपहल बढेसँगै सविताले आफ्नो बारीका फूल बिक्री गर्नुभएको हो ।यस्तै गोदावरी–४ की मखमली पहरी पनि तिहारको खर्च जुटाउन आफ्नो बारीमा फलेको बिमिरो र गोदावरी फूलका माला लिएर सविताले जस्तै बजार धाउनुहुन्छ । बारीमा फलेका फलफूल र फूल बिक्री गरी तिहार खर्च जुटाउने गरेको उहाँ बताउनुहुन्छ ।

यस वर्ष बारीमा लगाएका सबै फूल बिक्री गरी आम्दानी गर्न नसकिने उहाँको भनाइ छ ।गोदावरी–२ की मुना कार्की पनि सविता र मखमली जस्तै तिहारको खर्च जुटाउन भोगटे र हलुवावेद बिक्री गर्न पाटन आउनुभएको छ । बजारमा भोगटेको माग अत्यधिक भएको उहाँले बताउनुभयो । तिहारमा प्रत्येकले भोगटे खरीद गरी लैजाने हुँदा पर्याप्त व्यापार हुने गरेको मुनाले बताउनुभयो । पाटनमा अन्य महिला तिहार खर्च जुटाउन बजारमा व्यस्त देखिन्छन् । तिहारमा भाइपूजाको लागि पान सगुनका रुपमा नभई नहुने हुँदा यसको व्यापारमा नेपाली तथा भारतीय महिला र पुरुष बिक्री गर्न लागिपरेका छन् ।

लामो समयदेखि सप्तरङ्गीको व्यापारबाट तिहार खर्च जोहो गर्ने गरेको ललितपुर महानगरपालिका–२१ खोकनाकी रमा महर्जनले बताउनुभयो । प्रत्येकले भाइपूजाका साथै घरमा रङ्गबली बनाउन यी रङ लैजाने हुँदा रमाले राम्रो आम्दानी गर्नुहुन्छ । यो रङ व्यापारबाट धेरै नै नाफा हुने उहाँको भनाइ छ । तिहारमा नयाँ माटोको पाला बालिने हुँदा यसको बिक्री बढी नै हुने गरेको पाटनकी सविना शाक्यले बताउनुभयो । तिहार खर्च यसैबाट धान्ने गरेको उहाँको भनाइ छ । लगनखेल बजारमा तिहार खर्च जुटाउन महिलाहरुले मैनबत्ती, ढाकाको टोपी, फलफूल, मिठाइ, कुचो, मसला, भाँडाकँुडा, लत्ताकपडालगायत सामग्री बिक्री गरिरहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्