Logo

भेडा पालेर वार्षिक पाँच लाख बढी आम्दानी गर्दै बुद्धिबहादुर र बुद्धराम



गलेश्वर, ११ कात्तिक-बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुख्र्यौली पेशा भेडापालन हो ।बाजेको पालादेखि शुरु गरेको भेडापालनले नातिको पुस्तासम्म आइपुग्दा व्यावसायिक रुप लिइसकेको छ । बागलुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ ।चवालीस वर्षीय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुङ्गा र स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउँदै आएको बताउनुभयो । विकले आफ्ना ५२ वटा भेडालाई बिहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष भयो । बाह्र वर्षको उमेरदेखि भेडा चराउने पेशा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउनुहुन्छ ।

त्यस्तै विकसँगै भेडा चराउन म्याग्दीको जङ्गलमा आउनुभएका वाग्लुङका बुद्धराम मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासँगै जङ्गलमा नै बिताउनुभएको छ । ‘बालापन र वैंश दुवै यसैमा बित्यो हजुर, अब त यसैमा आनन्द छ, आफ्ना ४२ वटा भेडालाई खेद्दै ओरालो झर्दै गर्नुभएका मगरले भन्नुभयो ‘जापान पनि यही हजुर कोरिया नि यही ।‘ठट्यौलो स्वभावका विक र मगरका भेडाहरु पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकहरुको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिनेभन्दा फरक छ । विक भन्नुहुन्छ ‘एउटा भेडाको मूल्य रु पाँच हजारदेखि रु ५० हजारसम्म पर्छ ।

वर्षमा ५÷७ लाख रुपैयाँ कमाइ हुन्छ ।‘मगरले पनि भेडा बिक्री गरेर वर्षमा रु पाँच लाखभन्दा बढी कमाउने गरेको बताउनुभयो । मासिक सरदर रु ५० हजार कमाइ भएपछि विक र मगरलाई गाउँको भेडिगोठ र जङ्गलको चरनमा नै रस बसेको छ । मगर भन्नुहुन्छ ‘अमेरिका अष्टे«लिया जाउँला भन्ने कहिल्यै लाएन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै ।सुन्ने मान्छेलाई पनि कुरैले चोत्क्याउने खुबी भएका यी दुई भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो ।

आफनो नजिकको जङ्गल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरुको भनाइ छ । ‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौँ, मगरले भने “सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो, हामीलाई त वन खुला गर्दिए हुन्थ्यो ।”विक र मगरजस्तै धम्जामा नौ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन् । उनीहरु सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव । (रासस)

प्रतिक्रिया दिनुहोस्