Logo

धानखेतीमा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने



बाँके, १३ कात्तिक: जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो ।जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि शतप्रतिशतसम्म धान नष्ट गरेको छ । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी कीराको प्रकोप सबैभन्दा बढी नेपालगञ्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा देखिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–१९ सुँइयालगायतका ठाउँमा शतप्रतिशत धानबाली फौजी कीराले नष्ट गरेको छ ।डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुरलगायतका क्षेत्रमा पनि फौजी कीराले धेरै धान नोक्सान गरेको छ ।

जिल्लामा कूल दुई लाख २५ हजार ८३६ हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २५२ हेक्टरमा खेती हुन्छ । छत्तीस हजार ५०० हेक्टरमा धानखेती हुँदै आएको छ । यस वर्ष बीउ राख्ने र रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिएको बेला फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराको प्रकोप बर्दियामा पनि देखिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसीले फौजी कीराको प्रकोपबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद महेश्वर गहतराजले सङ्घीय सरकारका कृषिमन्त्रीलाई भेटेर पीडित किसानलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ । “विषादी छरेर फौजी कीराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई राहत दिनेबारे योजा बनाउँदै छौँ”, ज्ञान केन्द्र प्रमुख ढकालले भन्नुभयो, “राहतका लागि हामीले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।” (रासस)

प्रतिक्रिया दिनुहोस्