Logo

निरन्तर परिश्रम गरे सफलता मिल्छ भन्ने गतिलो उदाहरण बने पुष्प व्यवसायी पन्त



चितवन, १४ कात्तिक-निरन्तर परिश्रम गरे सफलता मिल्छ भन्ने गतिलो उदाहरण यहाँका फूल व्यवसायी प्रकाश पन्तले दिनुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ मा जन्मनुभएका पन्तले चितवनलाई कर्मभूमी बनाउँदै फूलखेती गर्दै आउनुभएको छ ।विसंं २०५७ मा मूल विषय अङ्ग्रेजीमा स्नातक उत्तीर्ण गर्नुभएका पन्तलाई रोजगारीका प्रशस्त अवसर थिए । तर, उहाँले काठमाडौँमा बिक्री हुने गरेको फूलको उत्पादनमा नै आफ्नो भविष्य देख्नुभयो । फूलखेती कहाँ गर्दा उपयुक्त हुन्छ विचार र परामर्शमा लाग्दै गर्दा चितवन उपयुक्त थलो उहाँलाई लाग्यो ।

तत्कालीन गुञ्जनगर गाउँविकास समिति वडा नं– ६ भुवनबस्तीमा दुई बिघाहा जग्गा भाडामा लिएर उहाँले फूलखेती थाल्नुभयो । पन्तका अनुसार शुरुमा १० कठ्ठा जमीनमा ‘ग्याडुलस’ फूल लगाउनुभयो । फूलको विस्तार गर्ने क्रममा उहाँले फार्मलाई सोही गाउँ विकास समितिको ५ नं वडामा सार्नुभयो । सो ठाउँमा ग्याडुलससँगै गोदाबरी, जरभेरा र गुलाफ उत्पादन गर्न थाल्नुभयो ।क्रमशः क्षेत्र विस्तार गर्ने क्रममा अहिले २० बिघाहामा ती फूल रहेका छन् । दुई दुई वर्षमा जमीन परिवर्तन गर्नुपर्ने भएकाले ठाउँठाउँमा जग्गा भाडामा लिएर उहाँले फूल लगाउँदै आउनुभएको छ । एक बिघाको वार्षिक रु ३० हजार भाडा तिर्दै आउनुभएका पन्तका बारीमा ५० जना भन्दा बढी स्थानीयवासीले रोजगारी पनि पाएका छन् ।

उहाँले उत्पादन गरेको फूल काठमाडौंँ मात्र होइन भारत र कतार पनि जाने गरेको छ । पहिलो वर्ष रु ५० हजारको फूल बिक्री गर्नुभएका पन्तले गतवर्ष रु दुई करोडको फूल बिक्री गर्नुभयो । यसवर्ष रु तीन करोड ५० लाखसम्मको फूल बेच्ने लक्ष्य उहाँले राख्नु भएको छ । स्नातक पढ्दै गर्दा यो व्यवसायमा हामफाल्नुभएका पन्तको पढाइ भने अघि बढ्न सकेन । यद्यपि यो पेशामा धेरैका गुरु उहाँ बन्नुभएको छ । नयाँ–नयाँ मानिसलाई यो पेशाका बारेमा सिकाउन पाउँदा र ठूलो सङ्ख्याका नेपाली दाजुभाई दिदीबहिनीलाई तलब बाड्दाको समयमा निकै आनन्द आउने गरेको पन्तको भनाइ थियो ।

उहाँले भन्नुभयो,“पढाई छुट्यो पछुतो छ । त्यो समयमा मैले जागिर पनि खानसक्थे, तर यो जोखिम लिएर मैले मेरो र अरुको जीवन पनि बनाउन पाएकोमा खुशी छु ।” फूलखेती मात्र होइन अध्ययन र अनुसन्धान गर्दै विज्ञ पनि उहाँ बन्नुभएको छ ।हल्याण्डको पम्प भन्ने संस्थासँग सहकार्य गरेर उहाँले काम गरिरहनुभएको छ । विदेशी विज्ञ बोलाएर सीप आदानप्रदानका लागि उहाँकै अगुवाइमा काम पनि भइरहेका छन् । उहाँले भन्नुभयो, “फूलखेतीको विस्तार र बजारीकरणका लागि युरोपका सबै जसो देशसँगै युएई, कतार, ईजरायल, नेदरल्याण्ड जस्ता देशमा पुगेको छु ।”नेपालमा आफूजस्ता धेरै किसानलाई यस क्षेत्रमा प्रवेश गराउने लक्ष्यका साथ ४४ वर्षीय पन्त अघि बढ्नु भएको छ । उत्पादन गर्ने र उपभोग गर्नेको बिचमा ठूलो अन्तर भएकोमा उहाँलाई चिन्ता छ ।

बीचका मानिसले धेरै नाफा खाइदिदाँ उत्पादन गर्ने र उपभोग गर्ने दुबै मर्कामा परेको भन्दै उहाँले अहिले क्षेत्रपुरमा फूल बिक्री केन्द्र समेत सञ्चालन गर्दै आउनु भएको छ । उहाँ भन्नुहुन्छ “दुःख गर्ने र उपभोग गर्नेले भन्दा विचौलीयाले बढी लाभ लिनु राम्रो होईन ।”आफ्नो बिक्री केन्द्रले किसानको फूल किन्ने र ग्राहकलाई बेच्ने काम गर्दै आएको उहाँको भनाइ थियो । प्रविधि र संरचनामा आफ्नो कमाई खर्चदै आउनुभएका पन्तसँग रु चार करोड भन्दा बढीका संरचना रहेका छन् । सात वर्षअघि आठ कठ्ठा जमीनमा फूलका लागि ठूलो ‘ग्रिन हाउस’ भित्र्याउनुभएका पन्तको फूलखेती हेर्न आउनेको भिड लाग्ने गरेको छ ।

पन्तले दुई दशकको सङ्घर्षमा नेपालमा र विदेशमासमेत आफूलाई चिनाउन सफल हुनुभएको छ । धेरै किसानका गुरु बनिसक्नु भएका पन्तको क्षेत्रपुरमा आफ्नै घर छ भने दुई सन्तान निजी स्कुलमा पढ्छन् । वार्षिक रु १० लाख हाराहारी बच्ने बताउँदै उहाँले नगद जम्मा भन्दा पनि संरचना जोड्दैमा धेरै खर्च हुने गरेको बताउनुभयो । पन्त सरकारको सहयोगको अपेक्षा गर्नुहुन्न । उहाँले भन्नुभयो, “अनुदानले कृषि क्षेत्र ध्वस्त भइसक्यो ।” साना किसानलाई थोरै रकम दिनु ठिकै भए पनि ठूलो रकम अनुदान दिनु गलत हुने भन्दै उहाँले ऋणमा सहुलियत दिनुपर्ने बताउनुभयो । पन्त फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवन शाखाको अध्यक्ष हुनुहुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्