Logo

झापाको हजार बिघा जग्गा अतिक्रमणमा



झापाको सरकारी, सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको सरोकार भएकाले बताएका छन् । झापाको गौरादह, कनकाई, दमक, विर्तामोड, मेचीनगर, कमल र भद्रपुरमा जग्गा अतिक्रमणको समस्या भएको बताइएको छ ।

कमल गाउँपालिकका अध्यक्ष मेनुका काफ्लेले लखनपुरस्थित सशस्त्र प्रहरीको प्रदेशस्तरीय तालिम केन्द्रको २५० बिघा र रतुवामाई वृक्षरोपण आयोजनाको ६६४ बिघा जग्गा व्यक्तिले अतिक्रमण गरेको जानकारी दिनुभयो ।

उहाँले सो जग्गा जिल्ला बाहिरका भूमाफियाले कीर्ते कागजात खडा गरी निजी नाममा दर्ता गरिसकेको भेटिएको हुँदा त्यसलाई फिर्ता गराउन स्थानीय तहबाट पहल भइरहेको बताउनुभयो ।

नेपाल बार एशोसिएसन झापाका अध्यक्ष लेखनाथ निरौलाले मेचीनगर नगरपालिकाको प्यारीभिट्टामा २८ बिघा जमीन र कनकाई नगरपालिकास्थित कनकाई नदीको उकास क्षेत्रमा सयौँ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको बताउनुभयो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले मठमन्दिर, खेल मैदानको नाममा स्थानीय तहले नै वनको जग्गा अतिक्रमण गरिरहेको बताउनुभयो । उहाँले जग्गाको क्षेत्राधिकार कसको भन्ने नबुझी वन क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न स्थानीय पालिकालाई आग्रह गर्नुभयो ।

विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटीले विर्तामोड–३ स्थित देवी गुठीको नाममा रहेको १२ बिघा जग्गा भूमाफियाले व्यक्तिका नाममा दर्ता गरेर हड्प्न खोजे पनि त्यसलाई रोक्न पहल भइरहेको बताउनुभयो । उहाँले डोमालाल रङ्गशाला रहेको सो जग्गा व्यक्तिका नाममा भोगलचन गर्न दिनु भनी सर्वोच्च अदालतले बद्नियतपूर्ण फैसला गरेको जनाउँदै सिरक ओढेर गरिएको फैसला कार्यान्वयन हुन नदिने अडान व्यक्त गर्नुभयो ।

पत्रकार गणेश पोखरेलले झापामा कति र कहाँको जग्गा अतिक्रमित भएको छ भन्ने अभिलेख कुनै पनि कार्यालयसँग नरहेको बताउँदै यसले भूमाफियाको मनोबल बढेको बताउनुभयो ।

आदिवासी नेता विद्यानन्द ताजपुरियाले झापाका अधिकांश स्थानमा आदिवासी जनजातिका पहिचान स्थापनाका लागि बनाइएका धार्मिकस्थल अतिक्रमणको चपेटामा परेको गुनासो गर्दै सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई अनुगमन गर्न आग्रह गर्नुभयो ।

मालपोत कार्यालयका प्रमुख जनार्दन भट्टराईले मालपोत कार्यालयसँग अतिक्रमित जग्गाको अभिलेख नरहेको स्वीकार गर्नुभयो । उहाँले सरकारी जग्गा अतिक्रमणमा परेको विषयमा स्थानीय तहलाई थाहा हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले आयोगलाई दमकको बालुवाटार, कनकाईको नदी उकास क्षेत्र, विर्तामोडको डोमालाल रङ्गशाला र मेचीनगरको प्यारीभिट्टाको अतिक्रमित जग्गाको अनुगमन गर्न आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अतिक्रमणमा परेका जग्गाको विवरण डिजिटल प्रविधिमा राख्न आयोगलाई आग्रह गर्नुभयो । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले स्थानीय सरकारले नै विनाभेदभाव, प्रमाणका आधारमा जिम्मेवार बनेर सार्वजनिक, गुठी र सरकारी जग्गाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

झापाका कतिपय सार्वजनिक ठाउँको जग्गाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा आयोगले सबैसँग समन्वय गरेर जाँचबुझ गर्ने उहाँको भनाइ थियो ।

नेपाल सरकारले सरकारी, सार्वजनिक र गुठीको जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गत जेठ ६ गते गठन गरेको आयोगले यहाँ अन्तक्रिया गरेको थियो । गत छ महिनामा आयोगसमक्ष १७७ उजुरी परेको आयोगका सदस्य जानकीवल्लभ अधिकारीले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्