Logo

ऐतिहासिक ताकमकोतमा १६औँ शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु



म्याग्दी । म्यादीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा १६औँ शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु भएको छ। पुरातत्व विभागले ऐतिहासिक महत्वको ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोग गरेर मन्दिर बनाउन लागेको हो। ताकमकोतबाट विसं १२४६ देखि १५४५ सम्म बगाले थापाले र १५४६ देखि १८८२ सम्म मल्ल राजाले राज्य सञ्चालन गरेका थिए।

थापा र मल्लकालीन इतिहास झल्कने गरेर पुरातत्व विभागले नयाँ मन्दिर निर्माण गर्न लागेको कोतमन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तेजिन्द्र थापाले जानकारी दिए। सङ्घीय सरकारले विनियोजन गरेको रु ४५ लाख बजेटबाट मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता भएको छ।

ठेकेदारले भक्तपुरका मजदुर, कालिगड ल्याएर मन्दिर बनाउन थालेको थापाले बताए । माटो, ढुङ्गा र काठको प्रयोग गरेर मन्दिर निर्माण गर्ने पुरातत्व विभागले जनाएको छ। सांसदद्वय भूपेन्द्रबहादुर थापा र थममाया थापाको पहलमा विभागले बजेट विनियोजन गरेको थियो।

अठार मिटर लम्बाइ र १२ मिटर चौडाइको जमीनमाथि मन्दिर निर्माण हुने भएको छ । चालू आर्थिक वर्षभित्रै मन्दिर बनाइसक्ने लक्ष्य छ । सोहौँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो।चन्दा सङ्कलनबाट करीब रु ९० लाख खर्चेर समुदायले गत असोजमा ताकमकोत र जगन्नाथ अन्नपूर्ण मन्दिर पुनःनिर्माण गरेका थिए।

सो मन्दिर सिमेन्ट, रड प्रयोग गरी पुनःनिर्माण भएको हो । ऐतिहासिक सम्पदाको संरक्षण गर्न पुरातत्व विभागले छुट्टै अर्को मन्दिर बनाउन लागेको बताइएको छ। मन्दिर संरक्षणका लागि धवलागिरि गाउँपालिकाले पनि रु १० लाख विनियोजन गरेको छ।पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरिएको ताकमकोत पुनःनिर्माण समितिका अध्यक्ष थापाले बताए। कोतमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन्।

म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ। जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ। समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे«े हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्