Logo

सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा



बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् ।
पश्चिमी नहरबाट ३३ हजार ७६६ र पूर्वी नहरबाट नौ हजार हेक्टर गरी ४२ हजार ७६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । जीर्ण पश्चिमी नहर मर्मत गरेर बढीमा तीन घनमिटर प्रतिसेकेण्ड (क्युमेक्स) सम्म पानी सञ्चालन भएको छ । आयोजनाले कुन विधिबाट, कसरी मर्मत गर्दा नहर टिकाउ हुन्छ भन्ने यकिन गर्न सकेको छैन ।

पश्चिमी नहरको सिँचाइ हुने ३३ हजार ७६६ हेक्टरमा क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन ५० क्युमेक्स पानी आवश्यक पर्छ । शाखा नहर निर्माण नभएकाले नहरको पानी सिधै किसानका खेतबारीमा जाने अवस्था छैन । मर्मत गरेर सञ्चालन गरेको नहरको पानी शाखा नहर र पम्पसेटबाट तानेर गरी करिब दुई हजार ५०० हेक्टरमा मात्र सिँचाइ पहुँच भएको छ ।

यो कूल सिँचाइ लक्ष्यको करिब पाँच प्रतिशत मात्र हो । पछिल्लो समय पूर्वीनहर निर्माण र पश्चिमी नहर मर्मतको काम जारी छ । नहरको केन्द्रीय अनुगमनका नाममा वर्षेनी करिब रु डेढ करोड खर्च हुँदै आएको छ । २०७६ मङ्सिरसम्ममा आयोजनाको निर्माण कार्य ६० प्रतिशतमात्र पूरा भएको छ । यसमा करिब रु १६ अर्ब खर्च भएको जनाइएको छ । यतिधेरै रकम खर्च भइसक्दा पनि न मूल नहर दर्बिलो छ, न अब बन्ने शाखा नहर गुणस्तरीय बन्ला भन्नेमा प्रत्याभूति नभएको स्थानीयले जनाएका छन् । नहर निर्माणका नाममा सरकारले वर्षेनी करिब रु डेढ अर्ब छुट्याउने गरे पनि गुणस्तरीय काम हुन सकेको देखिँदैन । राष्ट्रिय चासोको यो आयोजनालाई चालु आर्थिक वर्ष २०७६÷०७७ मा रु एक अर्ब ५२ करोड बजेट छुट्याइएको छ ।

आयोजना र ठेकेदार कम्पनीले उक्त क्षेत्रको माटो परीक्षण नगरी हचुवामा नहर निर्माण कार्य अघि बढाउँदा सरकारले गरेको अर्बौं लगानी खेर गएको स्थानीयको बुझाइ छ । राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेत भन्नुहुन्छ, “माटोको प्राविधिक परीक्षणबिनै हचुवामा काम गरेकाले पटक–पटक नहरमा यस्तो समस्या देखिएको छ ।”

उहाँका अनुसार भत्किएको पश्चिमी नहर मर्मत गरिए पनि टिकाउ हुने छाँट छैन । हिउँदमा टालटुल गरिएको ठाउँ पुनः बर्खायाममा भत्किने खतरा छ । मूल नहर निर्माणमा लापरवाही गर्दा नहर सञ्चालन नहँुदै पटकपटक भत्किएपछि बाँकेवासीमा अब बन्ने नहर पनि मूल नहरजस्तै कमजोर हुने हुन् कि भन्ने आशङ्का कायमै छ ।

निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै पश्चिमी मूल नहरमा समस्या देखिएको हो । पूर्वी मूल नहरमा काम शुरु भएको करिब तीन वर्ष मात्रै भएको छ । यो नहरको निर्माण कार्य २०७६ मङ्सिर १५ गतेसम्म पूरा हुनुपर्ने थियो । तर ठेक्का सकिँदासम्म करिब ४५ प्रतिशतमात्र काम भएको छ । यसले गर्दा यहाँको उर्वर जमिन आकाशे पानीको भरमा छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसार सिँचाइ सुविधा नहुँदा अझै जिल्लाका करिब ४६ हजार किसान आकाशे पानीका भरमा खेती गर्न बाध्य छन् । पछिल्ला वर्षमा खडेरी र अत्यधिक वर्षाले किसान समस्यामा पर्दै आएका छन् । सिँचाइको उचित व्यवस्था नहुँदा किसानलाई खेतीबाट लागत खर्च उठाउनसमेत हम्मेहम्मे भएको छ ।

यहाँका करिब ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् । यहाँको खेतीयोग्य उर्वर जमिनमा सिँचाइ सुविधा पु¥याएर किसानको प्रतिव्यक्ति आय रु एक हजार ४९२ बाट बढाएर रु चार हजार ५६५ पु¥याउने लक्ष्य साथ शुरु भएको सिक्टा सिँचाइ आयोजनाको लक्ष्यअनुसार काम नहुँदा यहाँका किसानले वर्षेनी करोडौँको नोक्सानी ब्येहोर्दै आएका छन् ।

सिँचाइ सुविधा भएमा कृषिउपजको उत्पादन कम्तीमा दोब्बरसम्म वृद्धि हुने नार्कका कृषि वैज्ञानिक रामदास चौधरी बताउनुहुन्छ । सिँचाइ सुविधा अभावमा कृषिउपजको उत्पादन घट्दा आयात बढेको छ । भारतबाट खाद्यान्न आयात वर्षेनी करिब १५ प्रतिशतका दरले बढ्दै गएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आव २०७५÷०७६ मा मात्र रु छ अर्ब ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी आयात हुने खाद्यान्नमध्ये चामल तेस्रोमा पर्छ । गत आवमा एक लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताउनुभयो ।
बालुवा र गिट्टीमा चुन मिसाएर बनाएको घोल भ्वाङमा हाल्ने, वर्षाका बेला भलले नहरका किनारामा पु¥याउन सक्ने क्षति रोक्ने काम गर्ने र नियमित मर्मतसम्भार गर्नुपर्ने सुझाव विज्ञको टोलीले दिएको छ । विज्ञका सुझावका आधारमा भ्वाङ परेको क्षेत्रको मर्मतसम्भार शुरु गरिएको आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिनुभयो ।

“मर्मत पनि परीक्षणकै रुपमा छ । त्यसको प्रतिक्रिया हेरेर मर्मत गर्ने विधि र प्रक्रिया यकिन गर्छौं”, आयोजना प्रमुख नेपाल भन्नुहुन्छ, “मर्मत टिकाउ हुन्छ कि हुँदैन भन्ने अन्यौल कायमै छ ।” परीक्षणकै क्रममा पटकपटक भत्केको यो नहरको बालापुर खण्डको छ किलोमिटर क्षेत्रमा मात्र सयौँ भ्वाङ परेका छन् । नहरका अन्य स्थानमा पनि समस्या देखिएका छन् ।

पछिल्लो समयमा निर्माण कम्पनी कुमार कालिका जेभीले कामको गति तीव्र पारेकाले कारण म्याद थप भएको मितिमा काम सम्पन्न हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । ठेक्काको म्याद सकिएको करिब एक महिनापछि पुसको १७ गते ठेक्काको म्याद १४ महिनाअर्थात् २०७७ पुससम्म थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्