Logo

बुद्ध पन्छी सारस जोखिममा



भैरहवा, १३ फागुन । लुम्बिनी क्षेत्र विश्व लोपोन्मुख पन्छी सारस क्रेनको लागि सबैभन्दा ठूलो बासस्थान तथा प्रजनन् क्षेत्र हो । बुद्धकालिन समयदेखि लुम्विनी सँग जोडिएको सारस बुद्धपन्छी भनेर पनि चिनिन्छ । पछिल्लो समय बिभिन्न कारण सारस जोखिमपुर्ण अवस्थामा छ ।

अग्लो खुट्टा र लामो घाँटी हुने सारसहरू मुलत सिमसारमा बस्ने पन्छी हुन । लामो ठुड, रातो टाउको, खैरो प्वाँख, अग्लो खुट्टा सारसको खास पहिचान हो। सारस प्रायः जोडीमै भेटिन्छ। प्रेम र समर्पणको प्रतीक मानिने सारस बुद्ध जन्मस्थल लुम्बिनीको नगर पन्छी हो। दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्धारा संरक्षित पन्छी सारस विश्वकै सबै भन्दा अग्लो उड्ने चरा हो । कुनै बेला नेपालको तराई क्षेत्रमा प्रचुर मात्रमा पाइने सारस हाल नेपालको लुम्विनी क्षेत्रमा बढि मात्रामा पाइने गर्छन । लुम्बिनीको कम्पाउन्डभित्र र बाहिर खेतमा सारसले अन्डा पार्ने र कोरल्ने गर्छ।

पछिल्लो समय कृषि उत्पादनमा किटनाशक विषादीको प्रयोग र जलक्षेत्रको अव्यवस्थित तथा अत्याधिक उपयोगका कारण सिमसारहरू नासिदै गएका छन् । सिमसार क्षेत्रहरू प्रयास अतिक्रमण भई कतै खेत र कतै घडेरीमा परिणत भएका छन् भने कतै माछा पोखरीमा सीमित छन् । पछिल्ला वर्षहरूमा सिमसार क्षेत्र नासिदै जाँदा त्यसको प्रत्यक्ष असर हाम्रो कृषि उत्पादन, जीविकोपार्जनमा संगै सारस जस्ता दुर्लभ चराहरूमा पनि परेको छ । खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीका साथै ढल तथा प्लास्टिक र शिशाजन्य नसड्ने पदार्थको सिमसारहरूमा विसर्जनले पनि सारसको वासस्थान बिग्रँदो छ ।

संस्कृतीविद् प्रा डा गितु गिरीका अनुसार लुम्विनीको संस्कृतिक महत्वको क्षेत्र मायादेवी, अशोका स्तम्ब लगायत हुन् भने प्राकृतिक महत्वको क्षेत्र लुम्विनी क्षेत्रमा पाइने सारस चरा हो । गिरीका अनुसार सारस पन्छीलाई संरक्षण गर्न लुम्विनी बिकास कोष लागे पनि यसको संरक्षण अपेक्षित रुपमा भएको छैन ।

चराविद् हेम सागर बरालका अनुसार लुम्बिनी क्षेत्र सारस मात्रै नभई नेपालमा सबै भन्दा धेरै चराहरु पाइने क्षेत्र हो । बरालले लुम्विनी क्षेत्रमा अन्य चराको पनि बाक्लो बासस्थन र घुमफिर गर्ने स्थान भएको बताउनुभयो । बरालका अनुसार सिमसार क्षेत्र नाश हुदै जादा चराहरुको लागी बासस्थान र प्रजनन् क्षेत्र रहेको लुम्बिनी क्षेत्र जोखिममा पर्दै गएको छ ।

लुम्विनी क्रेन सन्चुरीका कार्यक्रम संयोजक धर्मेन्द्र पालका अनुसार जनसंख्या वृद्धिसंगै बढ्दो शहरीकरण, सडक, बाधनिर्माणले गर्दा सारसको वासस्थान खण्डिकरण र नष्ट भइरहेको छ । पालले वासस्थान विनाश नै सारसको लागि प्रमुख चुनौती हो भने अण्डा चोर्ने र शिकार गर्ने कार्यले पनि सारसलाई अप्ठ्यारोमा पारिरहेको बताउनुभयो । पालका अनुसार कृषिभूमिमा बढ्दो विषादीको प्रयोग र अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत तारले पनि जीवित सानो संख्यामा रहेका सारसहरूलाई झन् संकटमा पारिरहेको छ ।

सारस संरक्षण अभियान्ता चेतन पन्तका अनुसार सारस संरक्षण गर्नु एकदमै जरुरी रहेको छ । पन्तका अनुसार सारस कुनै क्षेत्रमा भयो भने त्यसको उर्वरा शक्ती धेरै हुने गर्छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारस संरक्षण अभियान नै चलाएका छन्। लुम्बिनीमा सारसका लागि निश्चित स्थानसमेत तोकिएको छ।

विश्वशान्ति स्तूपा रहेको पश्चिमतर्फको भागलाई सारस क्षेत्र भन्दै संरक्षण गरिएको हो। यहाँ कैयौं जोडी सारस भेटिन्छन्। सारसको कुल संख्याको करिब ८५ प्रतिशत संख्या दुई जिल्ला रुपन्देही र कपिलवस्तुमा मात्र वितरण छ ।

करिब पाँच फिट अग्लो हुने सारसको तौल दश के।जी सम्म हुन्छ । सारसले खुल्ला सिमसार क्षेत्र, सिंचित धान खेत, पोखरी र ताल आसपासका क्षेत्रमा बच्चा कोरल्ने गर्दछ । नेपालमा सारसको अनुमानित कुल सख्या ४५० देखी ५०० सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्